धनुषामा दुई वडाका बासिन्दाबीच झडप, दुई राउण्ड हवाई फायर, आधा दर्जन घाइते



जनकपुरधाम : धनुषाको विदेह नगरपालिकामा बर्थिङ सेन्टर निर्माणको विषयमा दुई वडाका स्थानीयबिच झडप भएपछि परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ ।

वडा नम्बर–२ र ३ अर्थात दुहबी र गोबराहीका स्थानीयबीच झडप हुँदा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक रमेश बस्नेतले जानकारी दिए ।

बर्थिङ सेन्टर बनाउने विषयमा उनीहरुबिच आपसमा दुई दिनदेखि विवाद हुँदै आएको र शुक्रबार बिहान झडप नै भएको एसपी बस्नेतले बताए ।

दुई पक्ष बिचको झडपमा परि आधा दर्जन व्यक्ति घाइते भएका छन् भने एक जनाको कान समेत काटिएको प्रहरीले जनाएको छ । झडपको क्रममा घाइते भएकाहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

भीडलाई तितरबितर बनाउन त्यहाँ प्रहरी पुगेपछि दुहबी सिमा प्रहरी चौकीमा समेत स्थानीयले ढुंगामुढा गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्