मन्त्रीसँगको बैठकमा ओलीले दिएको सन्देश



प्रधानमन्त्री केपी ओलीले मन्त्री र राज्यमन्त्रीलाई बालुवाटारमा बोलाएर पार्टी विभाजनको सन्देश दिएका छन् । ओलीले आफूविरुद्ध षड्यन्त्र भएको भन्दै पार्टी नरहन सक्ने बताएको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार ओलीले कता लाग्ने हो कित्ता क्लियर गर्नुसमेत भनेका थिए ।

ओलीले आफूलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउने र राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउने तयारीको सूचना आफूले पाएको दाबीसमेत गरेका थिए । उनले राष्ट्रियता र पार्टी एकता दुवै संकटमा परेको भन्दै आफूले अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछोड्नेसमेत बताएका थिए ।

नेकपाभित्रको शक्ति–संघर्षले पार्टीभित्र विभाजनसम्मको खतरा देखिएपछि शनिबार मन्त्री, राज्यमन्त्री र आफ्नो सल्लाहकार टिमसहितको विस्तारित बैठक राखेर पार्टीभित्रको संकटबारे ब्रिफिङ गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् ।

‘अहिले हाम्रो काँधमा पार्टी एकता, राष्ट्रियता र कम्युनिस्ट आन्दोलन जोगाउनुपर्ने गम्भीर दायित्व आएको छ, त्यसमा मैले पनि दायाँ–बायाँ गर्दिनँ, तपाईंहरूले पनि गर्नुहुन्न,’ प्रधानमन्त्रीको ब्रिफिङ उद्धृत गर्दै कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले भनिन्, ‘उहाँले यदि राष्ट्रियता जोगिन्छ, कम्युनिस्ट आन्दोलन जोगिन्छ भने म दुवै पद छोड्न तयार छु, तर राष्ट्रियता र कम्युनिस्ट आन्दोलन दुवैमा खतरा उत्पन्न हुन्छ भने म दुवै पद छोडेर कमजोर हुन्नँ र त्यो हुन दिन्नँ भन्नुभएको छ ।’

ब्रिफिङअघि प्रधानमन्त्रीले राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गरेका थिए ।
नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस्