जसले पहिरोकै ढुंगामा अडिएर बिताए रात



संखुवासभा : घरमाथि आएको पहिरोबाट रौं चिरा समयको फरकले बचेका गोवासिंह राईलाई अहिले लाग्दैछ– ‘अलिकतिको संयोगले ज्यान जान पनि सक्दोरहेछ, रहन पनि सक्दोरहेछ ।’ शनिबार राति यही भयो उनको जीवनमा । पहिरोले एक्कासि घर हल्लायो । सिलिचोङ–१ बेसिन्दाका ७९ वर्षीय गोवासिंह श्रीमती र छोरीसहित अँध्यारोमा जसोतसो बाहिर निस्किए । निस्किसक्दा पहिरोले घर पल्टायो ।

पहिरोमा बाँचेका संखुवासभाको सिलिचोङ–१ बेसिन्दाका ७९ वर्षीय गोवासिंह राई । तस्बिर स् डीबी वालाखाम

पहिरोमा उछिट्टिएर आएको ठूलो ढुंगा उनीहरूका लागि सहारा बन्यो । अरू भाग पहिरोसँगै बगे पनि घरको छानो र काठको फेद ढुंगामा अड्किएको थियो । आइतबार बिहान ११ जना बेपत्ता हुने गरी आएको पहिरोमा गोवासिंह, उनकी श्रीमती भीमसरी र छोरी फूलमाया त्यही ढुंगाको आडमा रातभरि बसिरहे । वरपर पहिरो, माझमा ढुंगा अनि ढुंगामाथि राई परिवार । त्यसमाथि अविरल वर्षा । ढुंगा ‘अब खस्यो अब खस्यो’ को त्रासमा रातभर बसिरहँदा उनीहरू एकै जुनीमा हजार फेर मरेजस्ता पनि भए । रातको अँध्यारोले उनीहरूलाई छोपेकाले कसैले देखेनन्, पहिरो, बाढी र दर्के पानीको आवाजले रोएरचिच्याएको कसैले सुनेनन् । उनीहरूमाथि रातभरि सानो–सानो पहिरो झरिरह्यो । पहिरोसँगै झरेको ढुंगा र माटोले उनीहरूको जीउमा चोट पुर्‍याइरह्यो । बाँच्ने आशा र मर्ने भयले उनीहरू चिच्याइरहे ।

आइतबार बिहान करिब ४ बजेतिर गाउँलेहरूले टर्चलाइट बालेर हल्लाखल्ला गरेपछि ‘हामी ज्युँदै छौं’ भन्ने चिच्याहटले सुन्ने कान पायो ।

गोवासिंहका अनुसार, त्यसै बेला उनीहरूको उद्धार हुन पुग्यो । उनका दुवै हातमा चोट लागेको छ, टाउकामा ढुंगाले गहिरो गरी काटेको छ । गोवासिंहलाई ज्यान बाँचेकाले चोटसँग उति गुनासो छैन ।

‘बाँच्छु जस्तो लागेकै थिएन,’ उनले भने, ‘हामी त खसिरहेको पहिरोमा भगवान्को नाम जप्दै बसिरह्यौं ।’ चारैतिर पहिरो गइरहेको अवस्थामा अँध्यारामा बसेर छटपटिनुबाहेक केही गर्न नसकेको उनले बताए । ‘परिवार सबै मरिने भइयो भनेर रुँदै बस्यौं,’ उनले भने, ‘तीन घण्टा हिलोमा भिजेर बिताइएछ ।’

बेसिन्दा बगरमा अलैंचीबारी गएका उत्तरकुमार राई पनि गड्याङगुड्डुङ गर्दै पहिरो झरेपछि गोठबाट भागे । लगत्तै पहिरो खसेर उनको गोठ र अलैंची बगान बगायो ।

‘अँध्यारोमा म भीर पहरा छाम्दै भागें,’ उनले भने, ‘पछि त्यहाँ पहिरो खस्यो ।’

खोलामा माटो गन्हाएको पानी बगेपछि बेंसीको गोठबाट भागेको उनले बताए । पहिरो गएको राति भीमबहादुर राई पनि घरमा एक्लै थिए । निद्रामै रहेका उनी घर हल्लिएपछि ब्युँझिएका थिए । ब्युँझँदा घर बगिसकेको थियो । त्यसपछि उनी आत्तिए । बाहिर निस्केर हेर्दा घर केही मिटर तल झरिसकेको थियो ।

‘एउटा ल्यापटप र मोबाइल थियो, त्यो खोजें तर भेटिएन,’ उनले भने, ‘घरको छानोमा के बज्रिएको जस्तो लाग्यो, म घरसँगै निक्कै तल झरिसकेको रहेछु ।’

कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस्