मेलम्चीको सुरुङ फुट्दा इन्जिनियरसहित दुई जना वेपत्ता



काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका क्रममा सुरुङको गेट फुट्दा दुई जना बेपत्ता भएका छन् । अम्बारथानको १७ नम्बरको गेट फुट्दा आयोजनामा कार्यरत इन्जिनियर सतिश गोइत र सवारी चालक राधाकृष्ण थापा बेपत्ता भएका हुन् ।

सुरुङको गेट फुटेर निस्केको भेलले चार जनालाई बगाएको र दुई जनालाई भने सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी प्रज्ज्वल महर्जनले जानकारी दिए । सकुशल उद्धार भएकाहरु शेखर खनाल र पेम्बा दोर्जे रहेका छन् ।

उनका अनुसार उनीहरुलाई मेलम्ची अस्पतालमा उपचार गराई थप उपचारका लागि काठमाडौं पठाइएको छ । केही दिनदेखि मेलम्चीको सुरुङ वैकल्पिक माध्यमबाट पानी हाली परीक्षणको काम भइरहेको छ ।

प्रकाशित : असार ३०, २०७७

प्रतिक्रिया दिनुहोस्