कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ४० पुग्यो



काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गएको छ ।

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

सप्तरी जिल्लाका ७३ वर्षीय वृद्धकाे बिहिबार राति १० बजे मृत्यु भएको वीपी कोइराला स्वास्थ्य विज्ञानका प्रतिष्ठानका प्रवक्ता दिनेश सापकोटाले बताए ।

मधुमेह, उच्च रक्तचाप र मुटु रोगको उपचारका लागि भर्ना भएका वृद्धको उपचारका क्रममा बुधबार नै स्वाब संकलन गरिएको थियो । बिहीबार कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनलाई आइसोलेसनमा भर्ना गरिएको थियो ।

सापकोटाले भने,’ अहिले शव व्यवस्थापनको तयारी भइरहेको छ । अस्पताल प्रशासन र शव व्यवस्थापन समितिबीच छलफल भइरहेको छ ।‘

प्रदेश १ मा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । यससँगै नेपालभर कोरोनाबाट मृत्यु हुने व्यक्तिहरुको संख्या ४० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्