जनकपुरधाममा गुन्जियो राजा आऊ, देश बचाऊको नारा 



जनकपुरधाम : पुर्वराजा ज्ञानेन्द्र शाहको जनकपुरधाम आवागमनका क्रममा राजा आऊ देश बचाउको नारा गुन्जिएको छ । मधेश भ्रमणका क्रममा बुधबार झापाबाट स्थलमार्ग हुँदै साँझ जनकपुरधामको होटल सीताशरण पुग्ने बित्तिकै राजावादी र समर्थकहरूले ‘राजा आऊ देश बचाउ’, ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’ को नारा लगाएका थिए ।

पूर्वराजा शाहको स्वागतका लागि बेलुका ५ बजेदेखि नै उनी बस्ने होटल अघि समर्थकहरू कुरेर बसेका थिए । गाडीबाट झर्ने बित्तिकै समर्थकको फूलमाला ग्रहण गर्दै आफूलाई थकाई लागेको भन्दै उनी पत्रकारलाई भेटघाटको समय नदिइ आराम गर्न कोठातिर लागेका थिए । ज्ञानेन्द्रको स्वागतका लागि पूर्व–पश्चिम राजमार्गदेखि जनकपुरको होटल सीताशरणसम्म ठाउँ ठाउँमा जयजयकार सहितका ब्यानर सहित पण्डाल गेट तथा होर्डिङ बोर्ड लगाइएको छ ।

अनिल बस्नेतको नेतृत्वमा शिव सेना नेपालको टोली र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको विशेष सुरक्षा टोली उनको सुरक्षाका लागि होटल वरिपरी परिचालन गरिएको छ । ज्ञानेन्द्रको पुर्व निर्धारित कार्यक्रम अनुसार फागुन ३० मा सर्लाहीको प्रशिद्ध दुर्गा मन्दिर, चैत १ गते जनकपुरधामस्थित श्रीरामजानकी मन्दिर र चैत २ गते गाईघाटस्थित राधाकृष्ण मन्दिर र चैत ३ गते सप्तरीमा पुजापाठ गर्ने कार्यतालिका रहेको उनका निजी सचिव फनिन्द्र पाठकले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्