देश लकडाउन मुक्त, तर राजविराजमा अनिश्चितकालिन लकडाउन



सप्तरी : नेपाल सरकारले मंगलबार राति १२ बजेदेखि देशभरी लागू गरेको लकडाउन हटाएको समयमा सप्तरीको राजविराजमा भने अनिश्चितकालका लागि लकडाउन घोषणा गरिएको छ ।

सरकारले गत चैत ११ गतेदेखि सुरु भएको लकडाउन १ सय २० दिनपछि हटाएसँगै देशभरको जनजिवन सामान्य बन्दै गएको समयमा सप्तरीको राजविराज नगरपालिकाले नगरक्षेत्रभित्र अनिश्चितकालिन लकडाउन घोषणा गरेको हो ।

नगरभित्र संक्रमण फैलिन नदिनका लागि लकडाउन घोषणा गरिएको नगरप्रमुख शम्भु प्रसाद यादवले बताए । कोरोना संक्रमणबाट राजविराज–६ का एक बृद्धको मृत्यु भएपछि ‘कन्याक्ट ट्रेसिङ’ गर्दा मृतकको परिवारका ५ जना सदस्य, उनको पसलमा काम गर्ने ५५ वर्षीय कामदार, छिमेकीसहित ११ जना कोरोना संक्रमित भएका छन् ।

नगरभित्रको बजार, पसल, सरकारी, गैरसरकारी कार्यालय, बैंक, बित्तिय संस्था बन्द गरी लकडाउनको पूर्ण पालना गर्न आग्रह गर्दै राजविराज नगरपालिकाको कार्यालयले विज्ञप्ति जारी गरेको छ । अतिआवश्यक कामको लागि निस्कनु परे मास्कको अनिवार्य प्रयोग गरेर सामाजिक दुरी कायम गर्न नगरपालिकाले अपिल गरेको छ ।

स्वाबको रिपोर्ट सन्तोषजनक आएमा फेरि लकडाउन खुकुलो हुने तर अहिले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि लकडाउन कडा गरिने नगर प्रमुख यादवले जानकारी दिए ।

सप्तरीमा अहिलेसम्म ३४ महिला र ३ सय ५२ पुरुषसहित ३ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु समेत भइसकेको छ । सप्तरीका ३ सय १० जना व्यक्तिहरु निको भएर आ–आफ्नो घर फर्किसकेका छन् । त्यस जिल्लामा अहिलेपनि ३ हजार ८ सय बेड क्षमताको ८६ वटा क्वारेन्टाइनमा ४ सय ७६ जना छन् भने ४ हजार ५ सय ४३ जना होम क्वारेन्टाइनमा छन् । त्यस्तै १ सय ७८ बेड क्षमताको आइसोलेसनमा ८३ जना भर्ना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


प्रकाशित : साउन ७, २०७७

प्रतिक्रिया दिनुहोस्