चिनियाँ वाणिज्य दूतावास बन्द गर्न अमेरिकाको आदेश



काठमाडौंः विश्वका दुई शक्तिशाली देश चीन र अमेरिकाबीचको तनाव फेरि चुलिने देखिएको छ ।

कोरोना भाइरसको संकटसँगै चर्किरहेको यी दुई देशबीचको विवादले नयाँ रुप लिने देखिएको हो । अमेरिकाले हस्टनमा रहेको चिनियाँ महावाणिज्य दूतावास बन्द गर्न आदेश दिएसँगै तनाव चुलिने अवस्था आएको हो ।

अमेरिकाले मंगलबार त्यहाँ रहेको चिनियाँ सम्पर्क कार्यालय बन्द गर्न आदेश दिएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । हस्टनको चिनियाँ वाणिज्य दूतावास ‘अमेरिकी बौद्धिक सम्पदा संरक्षण’ का लागि बन्द गर्न भनिएको स्टेट डिपार्टमेन्टले जनाएको छ ।

अमेरिकाले आफ्नो वाणिज्य दूतावास बन्द गरेर दिएको आदेश तत्काल फिर्ता लिन चीनले आग्रह गरेको छ । चीनले अमेरिकाले उक्त कदम फिर्ता नलिए आफूले पनि उचित समयमा जवाफी निर्णय लिने जनाएको छ । चीनले यो निर्णयबाट पछि नहटेमा अमेरिकासँगको सम्बन्धमा गम्भीर असर पर्ने जनाएको छ ।

‘यो राजनीतिक प्रोपोगान्डाले दुई देशको कूटनीतिक सम्बन्धमा गम्भीर असर पर्छ’, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन्बिनले भनेका छन्,’त्यसैले यस निर्णयबाट अमेरिकाले पछि हट्नै पर्छ, यसलाई सच्याउनै पर्छ ।’ एजेन्सी

प्रतिक्रिया दिनुहोस्