सुदूरपश्चिम प्रदेश सभामा रेशम, सीकेदेखी विप्लव सम्मका कुरा 



कैलाली : सुदूरपश्चिम प्रदेश सभामा देशमा जल्दाबल्दा राष्ट्रिय मुद्धाका विषयमा प्रदेश सासंदहरूले आवाज उठाएका छन् । प्रदेश सभाको विशेष समयमा बोल्ने सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए । संसदको विशेष समयमा बोल्दै सत्तापक्षकै प्रदेशसभा सदस्य लिलाधर भट्टले सरकार र मन्त्रालयका काम कारवाही प्रभावकारी रूपमा कार्यान्वयन नभएको बताउँदै यसमा मन्त्रालयले जवाफ दिनुपर्ने बताए ।

प्रदेशसभा सदस्य देवकी मल्लले विप्लव समूहबाट आफू अपहरणमा परेको जानकारी गराउँदै विप्लवका गतिविधिप्रति आपत्ति जनाइन् । सत्तापक्षकै प्रदेश सभा सदस्य तारा लामा तामाङले कञ्चनपुरको दक्षिणी क्षेत्रमा असिनाले बालीनाली र तरकारी खेतीमा क्षति पुर्याएको १६ दिनसम्म पनि प्रदेश सकारले ध्यान नदिएको भन्दै सरकारको अनुभूति नागरिकलाई गराउन आग्रह गरिन् ।

प्रमुख प्रतिपक्षी दलका प्रदेशसभा सदस्य कर्ण मल्लले मुख्यमन्त्री कपको व्यवस्थापनका विषयमा प्रश्न उठाए । साथै सरकारले बजेटमा घोषणा गरेभन्दा बाहेक थुप्रै योजनाहरू निर्वाचन क्षेत्रमा लगेर कार्यकर्ता पोस्ने काम भइरहेको आरोप लगाए । सरकार र सीके राउतबीचमा भएको सहमति पनि देशको हित विपरीत भएको भन्दै उनले आपत्ति जनाए ।

प्रतिपक्षी दल राजपाका प्रदेशसभा सदस्य कृणबहादुर चौधरीले टीकापुर घटनाका विषयमा कैलाली जिल्ला अदालतबाट भएको फैसलामा आफूहरूको सहमति नरहेको बताए । उनले रेशम चौधरीको जन्मकैदका विषयमा सरकारको ध्यानाकर्षण गराउँदा अर्का प्रदेशसभा सदस्य वीरमान चौधरीले नियमापत्ति जनाए ।

यसैबीच सुदूरपश्चिम प्रदेश सभामा स्वरोजगार विकास कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक पेश भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले उक्त विधेयक प्रदेशसभामा पेश गरेका हुन् । विधेयक पेशका क्रममा मन्त्री बोहराले संक्षिप्त वक्तव्य राख्दै प्रदेशका जनतालाई स्व आर्जनमार्फत आत्मनिर्भर बनाउने सरकारको योजना रहेको बताए ।

साथै आजको प्रदेशसभा बैठकमा प्रदेशको वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सभाको सचिव र सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिमा भएको दफावार छलफल पश्चात् तयार भएको प्रतिवेदन, सम्बन्धित समितिका सभापतिले सभामा प्रस्तुत गरेका थिए । प्रदेश सभाको अर्को बैठक चैत्र ५ गते दिउँसो १ बजे आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्