काठमाडौं उपत्यकामा १० जना कोरोना संक्रमित थपिए



काठमाडौंः काठमाडौंमा आज (शुक्रबार) कोरोना भाइरसका १० जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणका क्रममा काठमाडौंका १० जनामा संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका ५ जना र त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका थप ५ जना गरी १० जनामा कोरोनाको पुष्टि भएको छ ।

योसँगै काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या ४०७ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ९८७ जनाको पीसीआर नमुना परीक्षण गरिएकोमा १३३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सहित नेपालमा कोरोना पुष्टि हुनेको संख्या १८ हजार ३७४ पुगेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा जम्मा सक्रिय संक्रमितको संख्या ५ हजार ३८३ रहेको छ । हाल देशभर क्वारेन्टिनमा रहेका व्यक्तिको संख्या १९ हजार ४४४ छ ।

पछिल्लो २४ घण्टामा १०७ जना डिस्चार्ज भएका छन् भने १२ हजार ९४७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्