सहकारीको मनोमानि मलखादमा हरेक वर्ष कालोबजारी



अमृत सापकोटा/रौतहट : रौतहटका कृषकलाई अहिले रासायनीक मलको चरम अभाव छ । धान रोपेका रौतहटका किसानहरुले समयमै मल नपाउँदा उत्पादनको चिन्तामा छन । आवश्यक परेको समयमा कहिल्यै मलखाद नपाउने कारण हरेक वर्ष समस्या झेल्नु परेको चन्द्रपुर नगरपालिकाका कृषकको गुनासो रहेको छ ।

केही दिन अघि मात्र मलखाद कालोबजारी गरेको आरोपमा चन्द्रपुर नगरपालिका भित्रका तीन वटा सहकारी संस्थामाथि मुद्दा दायर भएपछि वर्षौदेखि साधारणसभा नगर्ने सहकारी संस्थाले गरेको मलखादको कारोबारमाथि समेत छानबिन हुनुपर्ने माग स्थानीयस्तरमा उठेको हो । मलखाद कालोबजारी गरेको आरोपमा चन्द्रपुर नगरपालिका भित्रका सृजनसिल कृषि सहकारी संस्था लिमिटेड बाग्मती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षबिरुद्ध पक्राउ पुर्जी समेत जारी भएको छ भने उनीहरु सबै फरार छन । यी सहकारीमा छानबिन सुरु भएसँगै वर्षौदेखि साधारण सभा नगरि झोलामा मात्रै सिमित रहेका सहकारी संस्थाले गरेको मलखादको कारोबार माथि समेत छानबिन हुनुपर्ने माग किसानहरुले गरेका छन् ।

चन्द्रपुर नगरपालिकाका २४ वटा सहकारी संस्थाले मलखादको कारोबार गरे पनि शेयर सदस्य प्रति अनुदार रहने चन्द्रपुर नगरपालिका भित्रका ११ वटा सहकारी संस्थाले गरेको मलखाद कारोबारको छानबिन हुनुपर्ने माग स्थानीयहरुले गरेका छन् ।

वर्षौदेखि साधारणसभा नगर्ने तर मलाखादको कारोबार गर्नेमा सृजनसिल युवा कृषी सहकारी संस्था लिमिटेड पौराई, सदाबहादर महिला कृषि सहकारी संस्था लिमिटेड जुडिबेला, सामुदायिक विउवृद्धि तथा कृषि विकास सहकारी संस्था लिमिटेड चन्द्रनिगाहपुर, सनराईज कृषी सहकारी संस्था लिमिटेड चन्द्रनिगाहपुर, जनजागरण कृषि सहकारी संस्था लिमिटेड चन्द्रनिगाहपुर, अन्जली कृषि सहकारी संस्था लिमिटेड चन्द्रनिगाहपुर, सहकारी संस्था लिमिटेड सन्तपुर, प्रगती कृषि तथा बिउ बिजन सहकारी संस्था लिमिटेड सन्तपुर, युबा स्वरोजगार कृषि सहकारी संस्था लिमिटेड डुमरिया, सृजनसिल कृषि सहकारी संस्था लिमिटेड डुमरिया, सरस्वती कृषि सहकारी संस्था लिमिटेड डुमरिया रहेका छन् ।

ती सहकारी संस्थाले नेपाल सरकारको अनुदानको युरिया, डिएपी र पोटास खरिद गरी किसानलाई सहुलियत दरमा बिक्री गरेको भनिए पनि मल बिक्री वितरण प्रतिबेदनमा किसानको हस्ताक्षर नगरि वडा अध्यक्ष र नगरप्रमुखबाट प्रमाणित गर्ने गरेको रहस्य समेत खुलेको छ ।

गत आर्थिक वर्षमा कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रनिगाहपुरबाट ती सहकारी संस्थाले खरिद गरेको मलको विषयमा छानबिन हुनुपर्ने, साधारणसभा गर्ने सहकारीहरु पनि कागजि प्रक्रिया पूरा गरेको भए पनि लुकिछिपि मनोमानी गर्ने गरेको चन्द्रपुर ९ का स्थानीय गणेश तिमल्सिनाले बताए । सहकारीको नाममा मलखाद ल्याए पनि शेयर सदस्यले नपाउने सके सम्म बाहिरी ग्राहकलाई मंहगोमा बेच्ने गरेको तिमल्सिनाको आरोप रहेको छ ।

सहकारी संस्थाले लेखापरिक्षण गरेर वार्षिक रुपमा साधारण सभा अनिबार्य रुपमा गर्नुपर्ने हुन्छ तर चन्द्रपुर नगरपालिका भित्र रहेका दर्जनौं बचत तथा ऋण र कृषि सहकारी संस्थाले साधारण सभा नगरिकनै कारोबार गर्दै आए पनि नियमन गर्ने निकायको कमजोरीको फाईदा ती सहकारी संस्थाका केही पदाधिकारीले उठाउदै आर्थिक लाभ लिएर कालोबजारी गर्दै आएका छन् ।

प्रकाशित : साउन ११, २०७७

प्रतिक्रिया दिनुहोस्