वीरगन्जमा एक घर एक परीक्षण अभियान शुरु



पर्सा : वीरगन्ज महानगरपालिकाले आइतबारदेखि एक घर एक पीसीआर परीक्षण गर्ने अभियान शुरु गरेको छ । महानगरक्षेत्रमा संक्रमणसहितको कोरोना संक्रमितको संख्या ह्वातै बढ्नु र संक्रमणकै कारण ज्यान जान थालेपनि महानगरपालिका विरुद्ध चौतर्फी आलोचना शुरु भएपछि आजदेखि एक घर एक परीक्षण अभियान शुरु गरेको हो ।

महानगरले वीरगन्ज ९ रानीघाटबाट अभियान शुरु गरिएको छ । रानीघाटस्थित श्री रेल्वे माध्यमिक विद्यालयबाट पीसीआर स्वाब संकलन केन्द्रको स्थापना गरी स्थानियको स्वाब संकलन गरेको हो । मास टेस्टिङ्गको आधारमा पीसीआर परीरिक्षणको लागि स्वाब संकलन गर्ने कार्य शुरु गरिएको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले बताए ।

‘परीक्षणको लागि आवश्यक किट र साधन नारायणी अस्पताललाई पनि उपलब्ध गराई सकेका छौ,’ उनले भने, ‘अस्पताल र स्थानिय प्रशासन संग राम्रो सहकार्यमा छ, बिगार्ने मान्छेले जति बिगार्ने कोसिस गरोस् तर वीरगन्जमा एक घर एक परीक्षण लगायत मास टेस्टिङ्गदेखि लिएर शंकास्पद व्यक्तिहरुको चेकजाँच संयुक्त रुपमा गर्ने छौ ।’

महानगर प्रमुख सरावगीले महानगरक्षेत्र भित्र ४० हजार घरधुरी तथा बाहिरबाट आएका व्यक्तिहरुको समेत स्वाब टेस्ट गरिन्छ त्यसको लागि वीरगन्जको विर्तामास्थित त्रिजुद्ध स्कुलमा छुट्टै सेन्टर स्थापना गर्ने तयारी गरेको उनले बताए । ‘आवश्यक परे पाँच वटा टिम बनाएर काम गर्ने छौ,’ उनले भने, ‘यसको लागि ३५ जना स्वाब संकलनकर्तालाई तालिम दिई सकेका छौ त्यो ३५ जनाको ग्रुपले महानगरको छुट्टाछुट्टै ठाउँमा आफनो काम शुरु गर्छ ।’

जबसम्म ठूलो रुपमा काम अगाडि बढाउन सकिदैन तबसम्म मास टेस्टिङ्ग गरेको कुनै फाईदा नहुने उनले बताए । यसअघि पनि लकडाउन र निषेधाज्ञा जारी गरिएपनि मास टेस्टिङ्ग नभएका कारण अहिलेको अवस्था विकराल भएको हो अब मास टेस्टिङ्ग गरेर आफनो जनताको जिवन रक्षा गर्नुपर्छ, मेयर सरावगीले भने, ‘महानगरपालिका आफनो जनताको जिवन रक्षाको लागि कुनै उपाय बाँकी राख्दैन ।’

नेपाल–भारतको सीमा नाकामा थप कडाई नगरे कोरोना संक्रमणको जोखिमबाट मुक्त हुन नसक्ने उनले बताए । सिमापारी भारतको बिहारका व्यक्तिको नेपालमा पटक–पटक ओहोर दोहोर गरेकै कारण यहाँ संक्रमण फैलिएको हो । सम्बन्धीत निकायलाई ध्यानअकर्षण गराउँदा पनि कुनै सुनवाई नभएको गुनासो समेत मेयर सरावगीले गरे ।

‘मास टेस्टिङ्गको समयसम्म सीमा नाकामा थप कडाई गर्नुपर्छ,’ उनले भने, ‘वीरगन्जको नाका मात्र कडाई गरेर हुँदैन कोरोना कालसम्म पूर्वदेखि लिएर पश्चिमसम्म नेपाल भारतको नाकामा कडाई नगरे कोरोना संक्रमणबाट मुक्ती पाउँने वाला छैन ।’

यसमा गृह मन्त्रालय, नेपाल सरकारले ठोस निर्णय गर्नुपर्छ र सरकारले लागु गरेको मुख्यनाकाबाट मात्र प्रवेश गर्न दिनुपर्छ । लक्षण विनाको संक्रमितले समस्या छैन, उनिहरुलाई होम आईसोलेशन वा स्कुलमा राखेर उपचार गर्न सकिन्छ ।

मास टेस्टिङ्गबाट निस्केका संक्रमितलाई जसरी पनि आईसुलेट गरेर उपचार गर्नुपर्छ होईन भने, एकजना संक्रमितले ४ सय जनालाई यो रोग सार्न सक्छ र पुरै देशनै संक्रमित हुन सक्छ । संक्रमितको लागि छुट्टै ठाउँठाउँमा काउन्सलिङ्ग र औषधी व्यवस्थापन सेन्टर स्थापना जनताको सेवामा लाग्ने उनले बताए ।

वीरगन्ज महानगरपालिकासंगै स्थानिय प्रशासन र स्वास्थ्य कार्यालयले पनि आजदेखि बृहत रुपमा छुट्टाछुट्टै संक्रमितहरुको कन्ट्राक्ट ट्रेसिङ्गको आधारमा पीसीआर कलेक्शन गर्ने काम शुरु गरेको छ । उनीहरुले माईस्थान, राधेमाई र नारायणी अस्पतालमा पीसीआर कलेक्शन गर्ने काम शुरु गरेको हो ।

पर्सामा ८ दिनमा शून्य बाट ८४ समित बढेको छ । ४ जनाको संक्रमणबाट नै मृत्यु भईसकेको छ । अहिले पनि संक्रमित मध्ये ४ जनाको अवस्था चिन्ताजन रहेकोले कोभिड अस्पतालको आईसियु कक्षमा राखेर उपचार भईरहेको छ । संक्रमित अधिकान्समा संक्रमणको लक्षण देख्ना परेकोले संक्रमणको उच्च जोखिम बढ्न थालेपनि सम्बन्धीत निकाय तातेर पीसीआर परिक्षणको दायरा बढाएका हुन् ।

प्रकाशित : साउन ११, २०७७

प्रतिक्रिया दिनुहोस्