जसपाका युवा नेता यादवमाथि अभद्र व्यवहारको मुद्दा दर्ता



जनकपुरधाम : जनकपुरको एक क्याफेबाट पक्राउ परेका जनता समाजवादी पार्टी (जसपा) का युवा नेता नविन यादवमाथि प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरेको छ ।

जनकपुरको शिव चोकस्थित जेएफसी क्याफेबाट शनिबार राति करिव १० बजे पक्राउ परेका जसपाका संघिय परिषद सदस्य नविन यादवमाथि प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरेको हो ।

खाजा खाना आएकी दुईजना युवतीलाई दुव्र्यवहार र रेस्टुरेन्टको काउन्टरमा तोडफोड गरेको आरोपमा यादवमाथि आइतबार मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

क्याफेका सञ्चालक र पीडित महिलाहरुले दिएको जाहेरीको आधारमा यादवविरुद्ध मुद्दा दर्ता गरिएको डिएसपी कार्कीले बताए । यादवले आफूहरुसँग रेस्टुरेन्टभित्र दुव्र्यवहार गरेको युवतीहरुले बयान दिएको कार्कीले जानकारी दिएका छन् । यादव संगै पक्राउ परेका अन्य कसैको संलग्नता नरहेकोले उनीहरुलाई छाडिएको उनले बताए ।

क्याफे संचालकका अनुसार शनिबार राती क्याफेमा खाजा खान गएका यादव मदिराको नशामा महिलालाई जिस्काउनुका साथै दुव्र्यवहार गरेका थिए । महिलाले प्रहरीलाई खबर गरेपछि अबेर राति नै उनी सहित एक अन्य युवा र दुई युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

महिलामाथी दुव्र्यवहार गरेपछि पक्राउ परेका यादवलाई छोडाउन जनकपुरधाम उपमहानगरका प्रमुखदेखि प्रदेशका मन्त्रीसम्मले प्रहरीलाई दवाब दिदै आईरहेका थिए । यद्यपि पीडितहरुले स्वयं उजुरी दिएपछि मुद्दा दर्ता गरिएको हो । यसअघि पीडितहरुलाई समेत मिलाउने प्रयास गरिएपनि उनीहरु मिलापत्र गर्नुको साटो कानूनी उपचार हुनु पर्ने माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्