धनुषामा कोरोनाबाट एक पुरुषको मृत्यु



जनकपुरधाम : कोरोना संक्रमणका कारण धनुषामा पनि एक व्यक्तिको मृत्यु भएको छ । धनुषा जिल्लाको शहिदनगर नगरपालिका डुमरीयाका ३८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण आइतबार मृत्यु भएको हो ।

प्रादेशिक अस्पताल जनकपुरधामबाट धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको र त्यहाँ लैजाने क्रममा सिरहा पुगेपछि बाटोमै उनको मृत्यु भएको कोरोना विशेष अस्पताल जनकपुरका प्रमुख डा. जामुन सिंहले जानकारी दिए ।

करिब एक हप्तादेखि कोरोनाको लक्षण देखिएका पुरुषलाई शनिवार प्रादेशिक अस्पताल जनकपुर ल्याइएको थियो । अस्पतालमा ल्याएपछि स्वाब परिक्षण गरेकोमा आइतबार नै उनको रिपोर्ट पोजेटिभ आएको थियो । संक्रमित व्यक्ति कुनै प्रकारको दिर्घ रोगी नरहेको डा. सिंहले बताए ।

संक्रमित जेनरल आइसीयुमा रहेपनि उनको मृत्यु भएपछि अस्पतालमा आकस्मिक बैठक डाकिएको डा. सिंहले बताए । कोरोनाबाट धनुषामा यो पहिलो मृत्यु हो भने देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

प्रकाशित : साउन १२, २०७७

प्रतिक्रिया दिनुहोस्