मनसुनी वायु सक्रिय हुँदा सुदूरपश्चिम डुबानमा



काठमाडौं : जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेअनुसार सोमवारदेखि शुत्रवारसम्म भारी वर्षा हुने देखिएको छ । यस पटकको वर्षा सुदूरपश्चिममा अत्यधिक र अन्य भागमा सापेक्ष कम भएको छ । काठमाडौंलगायत पूर्वतिरका स्थानहरुमा कम वर्षा भए पनि सुदूरपश्चिममा भइरहेको भारी वर्षाका कारण तराईमा रहेका केही गाउँहरु डुबानमा पर्न थालेका छन् ।

यो वर्षकै बढी वर्षाका कारण पहाडी भेगमा बाढी तथा पहिरो पनि उत्तिकै गइरहेको छ । बाढीपहिरोसहित उर्लिइरहेका नदीनालाका कारण बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका बस्तीहरु डुबानमा परिहेका छन् ।

नदीमा पानीको बहाब उच्च हुँदै जानु र समथर भूमिका कारण वर्षाको पानी थुनिदै र बग्दै गर्नाले कैलालीको बाक्लो बस्ती भएका भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका बस्तीहरु डुवानमा पर्दै गएका छन् । पानी पर्ने क्रम जारी छ । बाढी वस्तीमा पस्दै गर्दा हालसम्म एक सयभन्दा बढी घरपरिवार प्रभावित भइसकेका छन् ।

संभावित डुबानमा पर्ने क्षेत्रमा पहिलेदेखि हेक्का राखिदै आएकाले मानवीय क्षती हुनबाट ती बस्तीहरु जोगाइए पनि धनको क्षति भने हुन गएको छ । कच्ची घरहरु पानी पसेसँगै भत्कने क्रम छन् । पक्की घरहरुका तल्ला तलाहरु जलमग्न हुन पुगेका छन् ।

यसभन्दा अघि पनि नगरपालिकाका वडा नम्बर २ र ३ मा त्यही सतह भएर बहने काँढा नदी र वडा नम्बर ५ मा कान्द्रा नदीको बाढी बस्तीमा पस्ने गरेको थियो । स्थानीय पत्रकार धनन्जय अवस्थीका अनुसार अहिले त्यहाँ जिल्ला तथा स्थानीय सरकारका उद्धार टोलीसहित स्थानीय जनता पनि संयुक्त रुपमा उद्धारमा लागिरहेका छन् ।

जोशीपुर गाउँपालिकाको वडा नम्बर १, ३, ४, ५, ६ र ७ का वस्ती पनि जलमग्न छन् । गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरी अहिले डुबानमा परेका गाउँहरुमा उद्दारका लागि नेतृत्व गर्दै उद्दार टोलीलाई निर्देशन दिइरहेका छन् । डुबानका कारण बस्तमिा थप जोखिम हुनदिनबाट कसरी बचाउने भनी स्थानीयसँग सरसल्लाह र सहकार्य गरिरहेका छन् । यो गाउँपालिकामा हरेक वर्ष काँढा नदी, पथरैया नदी र घैला नालाको बाढीले डुबानमा पार्ने गरिरहेको छ । जनप्रतिनिधि जनताका माझमा रहेकाले पीडा भए पनि स्थानीय सरकार आफूहरुसँग रहेको स्थानीय जनताले महसुस गरिरहेको पत्रकार अवस्थीले बताएका छन् ।

प्रकाशित : साउन १४, २०७७

प्रतिक्रिया दिनुहोस्