बाबुराम भन्छन् : अदालतसँगको सेटिङमा सिके राउत हिरो, रेशम चौधरी अपराधी (भिडियोसहित)



काठमाडौं : नयाँ शक्ति पार्टी नेपालले केपी ओली नेतृत्वको सरकारसँग देश विकासको कुनै भिजन नभएको आरोप लगाएको छ। नयाँ शक्तिले पार्टी केन्द्रीय कार्यालयमा सोमबार गरेको पत्रकार सम्मेलनमा सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताएको हो। 

पार्टी संयोजक बाबुराम भट्टराईले झन्डै दुई तिहाइको सरकारसँग प्रचुर सम्भावना र जनअपेक्षा भए पनि कार्यशैलीले सरकार पुरानै नियत र नियतिको सामान्य निरन्तरता मात्र बनेको  बताए। सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउने निर्णय हतारमा गरेको भन्दै निर्णय अराजनीतिक र अपरिपक्व भएको उनले बताए।

 

सत्तारुढ नेकपाले विप्लवको पार्टीलाई लुटेरा भन्न नैतिक रूपमा पनि नमिल्ने संयोजक भट्टराईको भनाइ थियो। उनले सरकारले अदालतसँग सेटिङ गरी सिके राउतलाई रिहा गरेको उनले आरोप लगाए।

 

सरकारको पहिलो वर्ष पूर्ण असफल

पार्टीले प्रधानमन्त्री ओली नेतृत्वको सरकारका काम कारवाही प्रष्ट, प्रभावकारी र सदाचार नदेखिएको भन्दै नेकपा सरकारको पहिलो वर्षको कार्यकाल पूर्णतः असफल भएको निष्कर्ष निकालेको छ। नयाँ शक्तिले बजेट कार्यान्वयनको अर्धवार्षिक समीक्षा गर्दै निराशाजनक रहेको भनेको छ। 

एनसेल, बूढीगण्डकी प्रकरण, वाइडबडी जहाज खरिद, ३३ किलो सुनकाण्ड, कालोधन थुपार्नेलाई संरण दिनुजस्ता ठूला आर्थिक अनियमितता र भ्रष्टाचारमा सरकारको संलग्नता प्रष्ट रहेको नयाँ शक्तिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ‘निर्मला पन्तका हत्यारालाई सरकारले पक्रन र दण्ड दिन सकेन’, विज्ञप्तिमा भनिएको छ।

प्रधानमन्त्रीबाट कूको बाटो खोजनी प्रयास

नयाँ शक्ति पार्टीले शासकीयस्वरूप परिवर्तन गरी जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद्को व्यवस्था गर्न माग गरेको छ। 

सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान, राजस्व अनुसन्धान, राष्ट्रिय अनुसन्धानजस्ता विभाग प्रधानमन्त्री कार्यालय मातहत राखी शक्तिको अनावश्यक केन्द्रीकरण गर्ने गलत सोच राखेकाले यसका लागि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रावधान ल्याउन माग गरेको छ।

राष्ट्रिय सुरक्षा परिषद्को अधिकारसमेत कुण्ठित गरी प्रधानमन्त्रीले सीधै सेना परिचालन गर्न सक्ने प्रावधान राखेर विधेयक पेस गरिएको पूर्वप्रधानमन्त्री भट्टराईले आरोप लगाए। 

उनले सुरक्षा परिषद्को बैठक बस्नै नसक्ने हास्यास्पद परिकल्पना गरेर प्रधानमन्त्रीले वैधानिक कू गर्ने बाटो खोजेको आरोपसमेत लगाए। उनले यो प्रयास निरंकुश शासक बन्ने बाटोतर्फ अग्रसरता भएको दाबी गरे।

 

 

प्रतिक्रिया दिनुहोस्