मुद्दा नै दर्ता छैन निर्मला बलात्कार तथा हत्या काण्डमा



काठमाडौं : आजभन्दा दुई वर्षअघि कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको कुनै पनि मुद्दा नै दर्ता गरिएको छैन । केवल प्रमाण नष्ट गरेको आरोपमा तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्टसहित ८ जना प्रहरीविरुद्ध उजुरी दर्ता भएको थियो । त्यो मुद्दाबाट अहिले सबै ८ जना आरोपीहरुले सफाइ पाइसकेका छन् ।

सार्वजनिक न्यायविरुद्धको कसूर र यातनासम्बन्धी कसूरका नाममा दर्ता भएको उक्त मुद्दामाथि जिल्ला अदालत कञ्चनपुरले फैसला गरी आरोपीहरुलाई सफाइ दिएको हो । जिल्ला न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले दुबै मुद्दामा प्रहरी अधिकारीलाई सफाइ दिएको थियो ।

मुद्दा लागेपछि निलम्बित गरिएका प्रहरी अधिकारीलाई जिल्ला अदालतको सफाइसँगै आफ्नो जिम्मेवारीमा फर्कने बाटो खुलेको छ । सफाय पाएकामध्ये एसपी बिष्ट र इन्सपेक्टर जगदीश भट्ट भने भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाइएकाले उनीहरुको पुर्नवहालीको मौका छैन ।

प्रहरी संगठन भन्छ, सफाइ पाएका प्रहरी कर्मचारीको यदि आन्तरिक सांगठनिक कुनै पनि नराम्रो आचार र व्यवहारसम्बन्धी उजुरी छैन भने उनीहरुको पुर्नवहालीमा कुनै पनि समस्या आउने छैन ।

निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा एसपी बिष्टसहित डीएसपी अंगुर जिसी र ज्ञानबहादुर सेटी, इन्सपेक्टर एकिन्द्र खड्का, जगदीश भट्ट, सई हरिसिंह धामी, रामसिंह धामी र हवल्दार चाँदनी साउदलाई प्रमाण नष्ट गरेको आरोप लागेको थियो ।

यति धेरै हल्लाखल्ला र राजनीतिकरणसमेत गरिएको निर्मला बलात्कार तथा हत्या काण्डको जग कति कमजोर पारिएको रहेछ भन्ने कुरा अहिले आएर खुलेको छ । यद्यपि सरकारका तर्फबाट उक्त घटनाबारे निरन्तर अनुसन्धान भइरहेको बताइएको छ ।

वर्तमान आईजीपी शैलेन्द्र थापा क्षेत्रीले भने अब यस घटनाको बारेमा सुरुदेखि अनुसन्धान थालेर टुंगोमा पुर्याउने आश्वासन दिएका छन् ।

प्रकाशित : साउन १६, २०७७

प्रतिक्रिया दिनुहोस्