‘अनुहार जलाए, तर सपना जलाउन सकेनन्’



काठमाडौं : ‘एसिड आक्रमणबाट म रतिभर पनि डराएकी छैन, आक्रमणकारीले मेरो अनुहार जलाए तर मेरो सपना जलाउन सकेनन्’, एसिड आक्रमणबाट घाइते वीरगञ्जकी मुस्कान खातुनले सोमबार सिंहदरबारस्थित एक सभाहलमा यसो भनिरहँदा सांसदहरुका आँखा रसाए ।

प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले सोमबार आयोजना गरेको एसिड पीडितको अवस्था र भविष्यमा चाल्नुपर्ने कदमका विषयक छलफल कार्यक्रममा उपस्थित खातुनले एसिड आक्रमणले आफ्नो सपनामा कुनै परिवर्तन नआएको बताइन् । ‘देशका लागि केही गर्ने मेरो सानैदेखिको सपना थियो, त्यही सपना लिएर म बढिरहेको थिएँ, तर ममाथि एसिड आक्रमण भयो’, उनले भनिन्–‘एसिड आक्रमणमा मेरो अनुहार कुरुप भयो, तर मेरो सपना ज्यूँका त्यूँ छ, ।’

घर, समाज र विभिन्न व्यक्तिबाट प्राप्त सहयोग, सद्भाव र प्रेरणाले आफू प्रोत्साहित भएको सुनाउँदै खातुनले त्यसबाट आफूलाई थप बल प्राप्त भएको बताइन् । परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या उत्पन्न भएको उनले बताइन् । सरकारले उपचार खर्च व्यहोरिदिन उनले त्यस क्रममा अनुरोध गरिन् । बैठकमा सहभागी सांसदहरुले एसिड आक्रमणकारीविरुद्ध कडा कानुन आवश्यक भएको भन्दै खातुनको आत्मबलको प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्