‘सजाय यस्तो होस् कि कसैलाई सोच आयो भने पनि हात कापोस्’



काठमाडौं : नेपालमा विगत ७ वर्षमा १८ महिलासहित २२ जनामाथि एसिड आक्रमण भएका छन् । जसमा १८ महिला र ४ पुरुष रहेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ ।

एसिड आक्रमणमा परेकाहरू नेपालको कानुन फितलो भएका कारण पनि यस्ता अपराध भइरहेको बताउँछन् ।

त्यसोत साउन ८ गते २२ वर्षीया युवतीमाथि काठमाडौंको बाफलमा एसिड आक्रमण भएको छ ।

पछिल्लो पटक काठमाडौंमा एसिड आक्रमणका घटना एकपछि अर्को गरी दोहोरिदै भएका छन् । यसको निशानामा किशोरी परिरहेका छन् । परिचित, आफन्त तथा छिमेकीहरुबाटै यस्ता घटना हुने गरेकाले यसको नियनत्रणका लागि नयाँ खालका मनोवैज्ञानिक पूर्व रोकथामका उपायहरुको खोजी गरिनु जरुरी छ ।

अरुको अनुहारमा एसिड छ्यापेर कुरुप बनाउने यस्ता आपराधिक प्रवृत्तिका कर्ताले आफ्नो अनुहार लुकाउन र सुरक्षित राख्न रातको समय, एक्लो अवस्था र ‘हायर’ गरिएका सहयोगीको सहारा लिने गरेका देखिन्छन् । २०७६ जेठ १ गते रातमा काठमाडौंको कालोपुलकी २२ वर्षीया जोनी खड्का, २०७६ भदौ २० गते वीगरञ्जमा मुस्कान खातुन ,२०७१ फागुनमा काठमाडौं वसन्तपुरमा संगीता मगर र सीमा बस्नेत, २०७० वैशाख ९ गते बिन्दवासिनी कंसाकारमाथि हेटौंडामा भएको एसिड आक्रमणले सबैको मुटु हल्लाएको थियो ।

अहिले प्रश्न उठेको छ, कसरी समाधान गर्ने एसिड आक्रमणको यो बढ्दो अपराधलाई ? यसबारेमा नयाँ सोच, खोज, अनुसन्धान र उपायको जरुरी छ । महिला हिंसामध्ये सबैभन्दा अमानवीय र क्रुर प्रकृतिका यस्ता घटना यदि प्राम्भिक संकेत, उजुरी, सुराक र सूचना पाउन सकिने हो भने घटना घट्नुपूर्व नियन्त्रण वा रोकथाम दुवै गर्न सकिन्छ । महिलाको अनुहार र बक्षस्थल टार्जेट गरेर प्रहार गरिने एसिड आक्रमणको यो जघन्य अपराध विश्वव्यापी छ ।

काडमाडौंको केही दिनअघि एक महिलामाथि एसिड आक्रमण भएको थियो । यो घटना यस वर्षको पाँचौ हो ।

एसिड आक्रमणमा परेकाहरू कस्तो समस्याबाट गुज्रनुपर्छ र उनीहरू कस्तो न्याय चाहन्छन् ?

एसिड आक्रमणमा परेकी जेनि खड्काले एसिडले दिएको जिन्दगीभरिको दाग कसैले मेटाउन पनि नसक्ने र त्यो कसैले महशुस पनि गर्न नसक्ने बताउँछिन् ।

उनी भन्छिन्–‘बाटोमा हिँडेपछि मनिसले हेर्ने नजर, आफूलाई परेको पीडा, हस्पिटलमा हुँदा खेरी त्यो दिनरातको पीडा, हस्पिटलमा लाग्ने खर्च र जिन्दगीभरीको दाग कसैले मेटाउन पनि सक्दैन र त्यो कसैले महसुुस पनि गर्न सक्दैन ।’

त्यसैगरी मुस्कान खातुनले एसिड आक्रमण एकदमै घातक पीडा भएको बताउँछिन् ।

‘आफ्नो हातले गालाको दाग हटाउन खोज्दा मासुको चोक्टा भुइमा बसेको थियो,’ उनि भन्छिन्–‘१५ वर्षको कलिलो उमेरमा यति पीडा खपेर बसिराखेको छु । यति पीडा कसैले पनि खप्नु नपरोस् ।’

एसिड आक्रमणमा परेकाहरु कस्तो न्याय चाहन्छन् ?
जेनि खड्काले एसिड आक्रमण भएको एक वर्षसम्म पनि मुद्दा चलिराखेको छ र अहिलेसम्म फैसला भएको छैन ।

‘अपराधि जेलमा छ । पीडित तपाईहरुकै अगाडि छ । के चाहिँएको छ सरकारलाई ? के चाहिएको छ अदालतलाई ?,’ उनि भन्छिन् –‘बारम्बार अदालत धाएपछि, बारम्बार सबैको अगाडि हात जोडेपछि, मेरो अपराधिलाई सजाय दिलाइदिनु भनेपछि मुस्किलले ४–५ वर्षको सजाय हुन्छ ।’
मुस्कानले यति ठूलो अपराध गरेपछि अहिले बाहिर निस्केर घुमिरहेको छ । अहिलेसम्म आफूले न्याय नपाएको बताउँछिन् मुस्कान ।

उनी भन्छिन्–‘एसिड आक्रमण गर्नेलाई जन्म कैद हुनुपर्छ ।’

यसैगरी बिन्दवासिनीले कानुन अनुसार आठ वर्षको सजाय सुनाइएको छ । तर, यो सजाय अझै पनि नपुगेको बताउँछिन् ।

उनी भन्छिन्–‘एसिड आक्रमण गरिसकेपछि हाम्रो पूरै जिन्दगी बबाद भइसकेको हुन्छ । यसको बदलामा जम्मा आठ वर्ष कैद सजाय ।’

उनीहरु एसिड आक्रमण गर्नेलाई सजाय यस्तो होस् कि कसैलाई फेरी यस्तो सोच आयो भने पनि उनीहरुको हात काँपोस् भन्छन् ।

नेपालको सन्दर्भमा दाइजो, एकतर्फी प्रेम, इगो, बदलाभाव आदिलाई यसको कारण देखाइए अपराधी मनसायले यस्ता कार्य गर्न प्रेरित गरेको पाइएको छ । अपराधका यस्ता घटनाबाट पीडितहरुले जीवनभर पीडा, तिरस्कार, हेला र दुर्वचन सहनु परिरहेको हुन्छ । कतिपयले त पीडा असैह्य भएपछि आत्महत्या समेत गरेका हुन्छन् । यसको बचाउका लागि पीडितमैत्री वातावरण निर्माण, शारीरिक तथा मनोवैज्ञानिक उपचारको पहुँच, स्वरोजगारको व्यवस्था, सम्मानित जीवनयापनको व्यवस्था मिलाइनुपर्छ ।

हालको मुलुकी अपराध संहितामा अपराध गर्ने व्यक्तिको कसुरअनुसार पाँचदेखि आठ वर्षसम्म कैद र एक लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको भएपनि यसले मात्र यो अपराध निरुत्साहित हुने देखिदैन । एसिड बिक्री वितरणमा पनि ख्याल पुर्याउनुपर्छ ।

प्रकाशित : साउन १९, २०७७

प्रतिक्रिया दिनुहोस्