नेपाल चौथोपटक उपाधि नजिक



विराटनगर : नेपाल विराटनगरमा जारी पाँचौं संस्करणको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। बुधबार सहिद रंगशालामा भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई ४–० ले स्तब्ध बनाउँदै नेपाल उपाधि नजिक पुगेको हो। 

नेपाली खेलाडीले पहिलो हाफमा १ गोल र दोस्रो हाफमा ३ गोल गरेका थिए। नेपालका लागि पुनम जर्घा मगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेल चारै जनाले १/१ गोल गरेका थिए। 

एकपक्षीय खेलको ४२ औं मिनेटमा डि–बक्समा अनमार्क रहेकी पुनमले पहिलो गोल गरिन्। कप्तान निरु थापाको बाइसाइकिल किकलाई सावित्रा भण्डारीले फ्लिक हेड गर्दा पाएको पासमा पुनमले गोल गरेकी थिइन्। 

यसपछि पनि पटक पटक नेपाली टोलीले श्रीलंकामाथि निरन्तर दबाब बनाएको थियो। पहिलो हाफ सकिँदा नेपाली टोली १–० ले अग्रता बनाउन सफल रहेको थियो। 

नेपालका लागि ३ गोल दोस्रो हाफमा भएको थियो। खेलको ७३ औं मिनेटमा मध्यपंक्तिकी अनिता बस्नेतले टोलीका लागि दोस्रो गोल गरिन्। रक्षक मनमाया लिम्बूको प्रहारमा निस्किएको बललाई सावित्रा भण्डारीले हेड गर्दै मिलाइदिएपछि अनिताले दुई डिफेन्डरका बीचबाट गोल गरेकी थिइन्।

८२ औं मिनेटमा अनिता बस्नेतकै पासमा सावित्रा भण्डारीको हेडरले श्रीलंकाली गोलपोस्टको जाली चुमेपछि नेपाल ३–० को अग्रता बनाउन सफल भयो।

श्रीलंकाको कमजोर रक्षापंक्तिको फाइदा उठाउने क्रममा नेपालले खेल सकिन ४ मिनेट बाँकी रहँदा चौथो गोल गर्न सफल भएको थियो। डि–बक्सभित्र अनिताले मिलाइदिएको एसिस्टमा अनमार्क रहेकी १७ वर्षीया रेखा पौडेलले ८६ औं मिनेटमा आकर्षक गोल गर्दै नेपालको जित सुनिश्चित गरिन्। पौडेल खेलको ६४ औं मिनेटमा कप्तान निरु थापाको स्थानमा मैदान पसेकी थिइन्। तेस्रो अन्तर्राष्ट्रिय खेल खेल्ने क्रममा पौडेल पहिलो गोल गर्न सफल भइन्। 

फाइनल  प्रवेशका लागि जित हात पारेको नेपालका लागि मध्यपंक्तिकी अनिताको प्रदर्शन उत्कृष्ट रह्यो।

खेल सकिएसँगै नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले अब टोली फाइनलका लागि तयार रहेको बताए।

पहिलो हाफ सोचेजस्तो हुन नसकेको बताएका खड्काले दोस्रो हाफमा भने रणनीति परिवर्तनसँगै खेलाडीलाई विपक्षीकाे रक्षात्मक खेलबारे सम्झाएपछि नतिजा राम्रो आएको बताए। 

त्यसैगरि श्रीलकाका प्रशिक्षक रोहन थिलक अल्पोन्सुले नेपाल र भारत दुवै टोली सशक्त रहेको बताए। पहिलो हाफमा योजनाअनुसार नै भएको बताएका उनले दोस्रो हाफमा नेपाली टोलीको आक्रमण थाम्न नसकेको बताए। ‘हामी मोरल्ली डाउन भयौं’, उनले भने। 

नेपालले अब शुक्रबार हुने उपाधि भिडन्तका लागि भारतसँग स्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनलमा साबिक उपविजेता बंगलादेश चार पटकको विजेता भारतसँग पराजित भएकाे हाे ।  

यसअघि नेपाली टोलीले पहिलो, दोस्रो र तेस्रो साफको फाइनल यात्रा तय गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्