वीरगञ्जमा कोरोनाले दुईको मृत्यु, थप १३३ जना सङ्क्रमित



वीरगञ्ज : देशको आर्थिक राजधानीको रुपमा परिचित वीरगञ्ज कोरोना सङ्क्रमणका कारण प्रभावित बनेको छ । वीरगञ्जमा बुधबार कोरोना सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ भने थप १३३ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

वीरगञ्ज महानगरपालिका–१५ भिस्वा बस्ने ४६ बर्षका पुरुष र पर्साको पोखरिया नगरपालिका–८ घर भएकी १८ बर्षकी युवतीको मृत्यु भएको हो । योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

यसैबीच, वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा मङ्गलबार राति गरिएको पीसीआर परीक्षणमा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार निरौला र वीरगन्जस्थित कारागारका जेलर श्रवण पोखरेलसहित थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार थप १३३ जना नयाँ संक्रमितमा २४ महिला छन् भने ५ वर्षदेखि ७४ वर्ष उमेर समूहका हुन् । प्रमुख प्रशासकीय अधिकृत निरौलाले आफू कोरोनाविरुद्धको फ्रन्टलाइनमा काम गर्दागर्दै संक्रमित भएको बताए । उनले रिपोर्ट आउन ढिलो भएको बताए । निरौलाले साउन १६ गते पीसीआर परीक्षण गराएका थिए । परीक्षण गराएको चार दिनपछि रिपोर्ट आएको हो ।

निरौलासँगै महानगरपालिका कार्यालयका अन्य १० जना कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ । जेलर श्रवण पोखरेलले भने साउन १८ गते स्वाब दिएका थिए । यस्तै, नेपाली सेनाका तीन जना, वीरगन्ज भन्सारमा खटिएका तीन जना सशस्त्र प्रहरीमा समेत कोरोना सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्