हर्षोल्लासपूर्वक मनाइयो फागु पूर्णिमा



काठमाडौंः प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङहरुको पर्व फागु हिमाली तथा पहाडी जिल्लामा सौहार्द एवं हर्षोल्सपूर्वक मनाइएको छ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व बुधबार परम्परागत रूपमा विभिन्न रङ र लोला हानी मनाइएको हो। 

केही वर्षअघि सम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने फागु प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्दै गएको छ। सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुन थालेको प्रहरीले जनाएको हो। 

यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित सर्वसाधारणले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन्। उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाउने प्रचलन छ।

आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ। तराई क्षेत्रमा भने बिहीबार होली मनाइँदै छ। तराईका जिल्लामा बिहीबार सार्वजनिक बिदा दिइएको छ। 

प्रतिक्रिया दिनुहोस्