संविधानले सबैलार्इ समेटेकाे मुख्यमन्त्रीहरुकाे टिप्पणी



विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संविधानले सबै भाषा, संस्कृति, परम्परा, धर्मको संरक्षण र सम्बर्द्धन गरेको बताएका छन् । 

संविधान दिवस २०७५ को अवसरमा प्रदेशस्तरीय संविधान दिवस मूल समारोह समिति, प्रदेश १ विराटनगरद्वारा आज सहिद र‌ंगशालामा आयोजित भव्य समारोहमा उनले सो कुरा बताएका हुन् । 

उनले विभिन्न जातजाति र समुदायको विशिष्ट अवस्थालाई ध्यानमा राखी तिनीहरुको हितको प्रबर्द्धन र पैरवीका लागि छुट्टै व्यवस्था संविधानमा भएको जानकारी दिँदै सामाजिक न्याय प्राप्तिका दिशामा संविधानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विचार व्यक्त गरे ।  

मूल समारोह समितिको संयोजकसमेत रहेका मुख्यमन्त्री राईले प्रदेशवासी जनताको विकास र समृद्धि, सुशासन र सम्मानको चाहनालाई मूर्त रुप दिन प्रदेश सरकार संवेदनशील रहेकाे बताए ।  

सो अवसरमा प्रदेश प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङको पनि उपस्थिति थियो । कार्यक्रमको प्रारम्भमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय सेवा दल, खेलाडी, बाल क्लब, विभिन्न विद्यालयका विद्यार्थी, संघसंस्था, विभिन्न जातजातिका संस्कृति झल्किने झाँकी प्रस्तुत गरिएको थियो ।

 

त्यस्तै प्रदेश ३ का प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकको संविधानले मानवअधिकारको प्रत्याभूति गर्न, प्रेस स्वतन्त्रताको साथै राजनीतिक दल खोल्न पाउने अधिकारको सुनिश्चित गरेको बताएका छन् । 

संविधान दिवसको उपलक्ष्यमा प्रदेश ३ प्रदेशस्तरको संविधान दिवस मूल समारोह समितिद्वारा हेटौँंडामा आज आयोजित समारोहमा उनले प्रदेश सरकारले संसदीय प्रजातन्त्रको सुढृढीकरण गरी जनतालाई आर्थिक समृद्धिउन्मुख गराउन क्रियाशील रहने बताएका छन् । 

उनले जनताको जीवनशैली र व्यवहारमा सुधार गरी उनीहरुलाई समाज उत्थानको साथै विकासको पूर्वाधार निर्माणमा आत्मनिर्भर तुल्याउन प्रदेशका लागि आवश्यक ऐन कानुन तर्जुमा गर्ने र केही ऐन प्रमाणीकरण गरिसकिएको उल्लेख गरे ।  

मुख्यमन्त्री पौडेलले जनतासँग प्रत्यक्ष सरोकार भएका विकाससँग सम्बन्धित कार्यालयबाट जनतालाई आवश्यक सेवा सुविधा उपलब्ध गराउन सम्बन्धित स्थानीय प्रशासनलाई निर्देशन दिइसकेको उल्लेख गरे । 

सो अवसरमा प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कटेलले तराईका राजनीतिक दलले संविधानको मर्मलाई आत्मसात गरी जनताको मौलिक हकको सम्बर्द्धन गर्न र उनीहरुलाई आर्थिक समृद्धि क्रियाशील गराउन एकजुट हुनुपर्ने विश्वास व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस्