मैत्रीपूर्ण खेलमा नेपाल र कुवेत भिड्दै



काठमाडौं : अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले बिहीबार कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।

दुई मैत्रीपूर्ण खेल खेल्न कुवेत पुगेको नेपाली टोलीले बिहीबार पहिलो खेल खेल्न लागेको हो । नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार बेलुका ९ः१५ बजे सुरु हुनेछ ।

नेपाल पहिलो खेल जित्ने लक्ष्यसहित मैदान उत्रनेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालीनले कुवेत विरुद्ध जित निकाल्ने लक्ष्य रहेको बताए । ‘हाम्रो लागि यो प्रतियोगिता निकै महत्त्वपूर्ण छ । नेपाली फुटबलले लामो यात्रा तय गर्न बाँकी छ,’ कालीनले भने, ‘त्यसका लागि कुवेतविरुद्धको खेल सुरुवात हो । जित्नका लागि हामी मैदानमा उत्रन्छौँ ।’

नेपाल र कुवेतबीच १९ वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो । यसअघि नेपालले कुवेतसँग सन् २००० मा एएफसी एसिया कपमा प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपाल ५–० ले पराजित भएको थियो । 

हालै राष्ट्रिय प्रशिक्षकको जिम्मेवारी सम्हालेका कालीनको लागि यो पहिलो अन्तर्राष्ट्रिय खेल हो । त्यसैले यो मैत्रीपूर्ण खेललाई कालीनको परीक्षाको रुपमासमेत हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्