भोलि जसपाको बैठक सकिने



काठमाडौंः जनता समाजवादी पार्टी (जसपा)को कार्यकारणी समितिमा शुक्रबार समायोजन निर्देशिकामाथि छलफल भएको छ ।

सात वटा एजेन्डा प्रस्तुत गरिएको जसपाको पहिलो कार्यकारणी समिति बैठकमा शनिवार कार्यविभाजनसहितका एजेन्डामाथि छलफल हुने र शनिवार नै बैठक सकिने जसपाका नेताहरूले बताएका छन् । शुक्रबारको बैठकमा वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी संगठनको बारेमा जानकारी गराएका थिए ।

त्यसपछि समायोजन निर्देशिकामाथि छलफल भएको जसपा नेता लक्ष्मणलाल कर्णले बताए । विहीबारको बैठकमा पार्टीका अध्यक्ष महन्थ ठाकुर अनुपस्थित भएपछि एजेन्डामाथि छलफल हुन सकेको थिएन । ठाकुर स्वास्थ्य समस्याका कारण अनुपस्थित भएपछि अर्का अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता डा.बाबुराम भटराईले नेपालको वर्तमान रानीतिक अवस्था र लोकतान्त्रिक समाजवादको बारेमा प्रस्तुती दिएका थिए ।

शुक्रबारको बैठकमा समायोजन निर्देशिकासँगै पार्टीको आचरण र व्यहवारसम्बन्धी आचार संहितामाथि समेत छलफल भएको छ । ७ ओटा एजेन्डामा समायोजन निर्देशिका र पार्टीको कार्यविभाजन महत्वपुर्ण मानिएको छ ।

नेता कर्णले बैठक धेरै नलम्बयाउन र भोलि सकिने गरि तयारी भइरहेको बताए । उनले भोलि कार्यविभाजनसहित अन्य बाँकी एजेन्डामाथि छलफल भएर बैठक सकिने बताएका हुन् ।

प्रकाशितः साउन २३, २०७७

प्रतिक्रिया दिनुहोस्