भाषा पास गरेका नाै हजार नेपाली काेरिया जान पाएनन्



काठमाडाैं : रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षामा उत्तीर्ण भएकामध्ये ९ हजार ४ सय नेपाली कोरिया जान पाएका छैनन् । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार अहिलेसम्म ६९ हजार ९८ जना भाषा परीक्षा उत्तीर्ण भएकामा ५९ हजार ६ सय ९८ मात्र कोरिया जान पाएका छन् ।

कोरियाले सन् २००८ देखि नेपाली कामदारलाई कृषि र उत्पादन क्षेत्रमा लैजान थालेको हो । भाषा परीक्षामा सहभागी भई उत्तीर्ण भएका सबै कोरिया जान पाउने गरेका छैनन् । परीक्षा छनोटको आधारमात्रै बनेको छ । कोरियाले हरेक वर्ष कोटा निर्धारण गर्छ । त्यसैअनुसार भाषा परीक्षामा उत्तीर्ण हुनेको नामावली प्रकाशन हुँदै आएको छ । कामदार आफैंले पनि रोजगारदाता छनोट गर्न पाउँदैनन् ।

'हामीले परीक्षा सञ्चालन गर्ने र रोजगारदाताले चयन गरेकालाई पठाउन समन्वय मात्रै गर्ने हो,' ईपीएसका सूचना अधिकारी शोभाकर भण्डारीले भने । भाषा परीक्षा पास गर्नेले दुई वर्षभित्र रोजगारदाताले चयन नगरे पुनः परीक्षामा सहभागी हुनुपर्छ । 'हाम्रो समय र पैसा मात्रै सकियो,' कोरिया जान नपाएका ताप्लेजुङका रमेश लिम्बूले भने, 'भाषा सिक्न काठमाडौंमा आए । नाम निस्कियो । कोरिया जान पाइन्छ भनेर कुरेर बसियो । अवसर आउँदा अरू काम पनि गरिएन ।'

कोरियाले कामदार लैजान हरेक वर्ष भाषा परीक्षा लिने गरेको छ । हालसम्म छुट्याएको कोटाअनुसार कामदार लिएको छैन । २००८ मा ६ हजार ७ सय ८६ कामदारको कोटा छुट्याएको थियो । सुरुको वर्ष ८१ महिलासहित २ हजार ८ सय १४ जना कामदार लगेको थियो । दोस्रो वर्ष भाषा परीक्षा गरेन । पहिलो वर्ष नै पास भएको मध्येबाट थप १९ सय ६१ जना जान पाए। कान्तिपुर दैनककाे पृष्ठ ३ मा याे खबर छापिएकाे छ। 

प्रतिक्रिया दिनुहोस्