कोरोना नियन्त्रणका लागि प्रदेश २ सरकारले संघीय सरकारलाई गरायो ध्यानाकर्षण



जनकपुरधाम : कोरोना संक्रमण नियन्त्रणका लागि प्रदेश २ सरकारले संघीय सरकारलाई ध्यानाकर्षण गराएको छ ।

मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा सामाजिक विकास मन्त्री नवल किशोर साह र मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाको टोलीले आज (आईतबार) उपप्रधानमन्त्री इश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र श्रममन्त्री रामेश्वर राय यादवसँग भेट गरी कोरोना रोकथामका लागि विशेष प्याकेज ल्याउन आग्रह गरेको हो ।

छलफलका क्रममा वीरगञ्ज नेशनल मेडिकल कलेजमा कोभिड उपचारका लागि तत्कालै ५ सय वेड क्षमताको आइसोलेसन वार्ड व्यवस्थापन गर्नेगरी संघीय सरकारबाट निर्णय गरिने उपप्रधानमन्त्री पोखरेलले प्रतिबद्धता जनाए ।

प्रदेश २ वर्तमान अवस्थामा कोरोना संक्रमणबाट अति प्रभावित भइरहेकोले तत्काल विशेष प्याकेज घोषणा गर्न टोलीले संघ सरकारसँग आग्रह गरेको छ ।

तत्काल ५० हजार भिटिएम रिएजेन्टको उपलब्धता तथा पीसीआर परिक्षणका लागि २ वटा आर.एन.ए मेसिन उपलब्ध गराउने बारे समेत छलफल भएको छ ।

प्रदेश २ मा चिकित्सकहरुको विशेषज्ञ टोली तत्कालै पठाउनुपर्ने तथा सबै निजी अस्पतालहरुमा कम्तिमा २० प्रतिशत आइसोलेसन वेड उपलब्ध गराउन समेत ध्यानाकर्षण गराइएको छ ।

मुख्यमन्त्री राउतले प्रदेश नं. २ मा रहेका गम्भिर विरामीलाई तत्काल काठमाण्डौं ल्याउने गरी हेलिकप्टर स्टाण्डबाई राख्न आग्रह समेत गरे ।

मुख्यमन्त्री राउतको टोलीले प्रशासन तथा सुरक्षा निकायलाई थप चुस्त दुरुस्त रुपले काम गर्नुपर्ने तथा सिमा क्षेत्रमा थप कडाई गर्नुपर्नेतिर विशेष ध्यान दिनुपर्नेप्रति चासो राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्