उत्कृष्ट भनिएको आइसोलेसन सेन्टरमा त पानी पनि छैन !



जनकपुरधामः सामाजिक विकास मन्त्रालयले कोरोना संक्रमितहरुको उपचारका लागि धनुषामा प्रदेश स्तरीय दुईवटा उत्कृष्ट आइसोलेसन सेन्टरहरु सञ्चालन गरेको वाहवाही लुटिरहँदा ति आइसोलेसन सेन्टरहरुको हाल बेहाल देखिएको छ ।

सामाजिक विकास मन्त्रालयले नगराइन नगरपालिका-५ गंगुलीस्थित मिथला आयुर्वेद मेडिकल कलेजको भवन र लक्ष्मिनिया गाउँपालिका-४ सपहीस्थित विपी मेमोरियल पोलिटेक्निकल इन्स्टिच्यूटको भवनमा नमूना आइसोलेसन सेन्टरहरु सञ्चालनमा ल्याएको भनिरहँदा त्यस आइसोलेसनमा रहेका संक्रमितहरुले यहाँ कुनै सुविधा उपलब्ध नरहेको बताएका छन् ।

विगत चार दिन पहिले धनुषाको कमला नगरपालिका वडा नम्बर-१ मङ्गराहा बस्ने ४५ बर्षिय एक पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनी लक्ष्मिनिया गाउँपालिका-४ सपहीस्थित विपी मेमोरियल पोलिटेक्निकल इन्टिच्यूटको भवनमा सञ्चालित आइसोलेसनमा भर्ना भए । उनले बाहिर सुनेका थिए कि सामाजिक विकास मन्त्रालयले सञ्चालन गरेको सो आइसोलेसन सेन्टर एकदमै उत्कृष्ट छ । तर, भित्र पुगेपछि बाहिर सुनेको जस्तो केही देखेनन् । सबैथोक लथालिङ्ग थियो । न खानपिनको कुनै ठेगान थियो न त सुत्नका लागि ओछ्यान नै । थियो त मात्र खाली बेडहरु । उनले भने,‘म यहाँ आएको दिनदेखि झन बिरामी परेको महसुस गर्दैछु । बरु घरमै होम आइसोलेसनमा भएको भए समयमै सबैथोक पाउँथे । प्रदेश २ सरकारले प्रचार गरेको एसियाकै उत्कृष्ट आइसोलेसन सेन्टरको त दुरावस्था हेर्दा लाजै लाग्यो । न त यहाँ बेडसिट छ, न मछरजाली छ, न साबुन छ, न पानी छ, न त मास्क नै । स्यानिटाइजर आदि कुनै सेफ्टी सामग्रीको कुनै व्यवस्था छैन् ।’

जहाँ सेफ्टी सामग्री दिने कुनै व्यवस्था छैन, उनले भने,‘खानपिनको कुरा त परै जाओस । यो सरकारले आफुले एसियाकै उत्कृष्ट आइसोलेसन सेन्टर सञ्चालन गरेको भन्नु निर्लज्जता बाहेक अरु केही छैन् ।’

आइसोलेसन सेन्टरको यस्तो दुरावस्था हेरेपछि जनताप्रति जवाफदेही हुनुपर्नेमा प्रदेश सरकार कोरोना रोकथाम र नियन्त्रणमा पूर्णरूपमा असफल भएको उनको गुनासो छ । आइसोलेसन हदै अव्यवस्थित छ । यहाँ तनाव बोकेर आएका व्यक्तिलाई सम्झाउने, बुझाउने र मनोपरामर्श दिने व्यवस्था त परको कुरा, राम्रो खाने, बस्ने सुविधासमेत छैन् । ‘कोरोना सर्ने डरले यहाँ कोही पनि आउँदैनन्,’ उनी भन्छन्, ‘चार दिनको अवधिमा एकपटक कोही आएको थियो, टाढैबाट एकछिन हेरेर फेरि आफ्नो बाटो लाग्यो ।’

उनले भने,‘पटक-पटक गुनासो गर्दा पनि व्यवस्थापन पक्षले कुनै चासो दिएन् । मेयर, सांसद र मन्त्रीहरु संक्रमित भएपछि आ-आफ्नो सुविधाको हिसाबले कोही काठमाण्डौमा त कोही घरमै आइसोलेसनमा बसेका छन् । तर, हामी सर्वसाधारण जनतालाई आइसोलेसनमा भेडाबाख्रा जस्तै व्यवहार सहनु परेको छ । हामीसँगै यहाँ आइसोलेसनमा १० वर्ष मुनिका बालबालिकाहरु पनि छन् । खाना त के यहाँ पानी समेतको व्यवस्था गरिएको छैन ।’

नेपालमा क्वारेन्टाइन तथा आइसोलेसन सेन्टर सञ्चालनको के छ मापदण्ड ?

नेपाल सरकारले तयार गरेको ‘कोरोना भाइरस सम्बन्धी क्वारेन्टाइन तथा आइसोलेसन सेन्टर सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड, २०७६’ अनुसार, क्वारेन्टाइन र आइसोलेसमा सफा र सुरक्षित सयन कक्ष, एक ओछ्यान र अर्को ओछ्यानबीचमा निश्चित दूरी, प्राथमिक उपचार सामग्रीको व्यवस्था हुनुपर्छ ।

निर्देशिका अनुसार त्यसबाहेक ‘कम्तिमा तीनजना सरसफाइ कर्मचारी, डस्टबिन र पर्याप्त मास्कको व्यवस्था, तोकिएको मापदण्ड अनुसार फोहोर व्यवस्थापन, छुट्टाछुट्टै साबुन र स्यानिटाइजर हुनुपर्ने’ उल्लेख छ । त्यसैगरी ‘त्यहाँ बस्नेहरूको कम्तीमा दिनको दुईपटक स्वास्थ्य परीक्षण हुनुपर्ने र त्यहाँ व्यायाम तथा मनोपरामर्श सम्बन्धी क्रियाकलाप नियमित हुनुपर्ने’ उल्लेख छ । तर, प्रदेश सरकारले सञ्चालन गरेको यस आइसोलेसनमा कुनैपनि सुविधा उपलब्ध छैन।

महिलाहरुका लागि आइसोलेसको बसाइ झनै पीडादायी छ । यौन हिंसामा पर्ने डर, महीनाबारी हुँदा के गर्ने, कसरी बस्ने भन्ने चिन्ताले आफुहरुलाई सताईरहेको एक महिलाले बताईन् ।

प्रकाशितः साउन २६, २०७७

प्रतिक्रिया दिनुहोस्