‘रेमडिसिभिर’ दर्ता गर्न विभागको आलटाल



काठमाडौं : औषधि व्यवस्था विभागले कोरोना संक्रमितका लागि प्रभावकारी मानिएको ‘रेमडिसिभिर’ नामक औषधि दर्ता प्रक्रियामा आलटाल गर्दा सो औषधि अवैध तरिकाले नेपाल भित्रिने गरेको पाइएको छ । स्रोतका अनुसार केही आयातकर्ताले ‘रेमडिसिभिर’ नामक औषधि कोलकाता हुँदै नेपाल भित्र्याउने गरेका छन् । पटके सिफारिसबाट पनि औषधि आयात गर्न सकिने व्यवस्था छ ।

‘रेमडिसिभिर’ नामक औषधि दर्ता गर्न औषधि व्यवस्था विभागले आलटाल गर्दा गैरकानुनी तरिकाले नेपाल भित्रिएर कालोबजारी हुने देखिएको छ । परभाइल ४० देखि ५० हजार रुपैयाँसम्म किन्नुपर्ने बाध्यता छ । रेमडिसिभिर नामक औषधि दर्ता हुन सके परभाइल ७ हजार रुपैयाँसम्म आयात गर्न सकिने आयातकर्ता बताउँछन् ।

अमेरिकाको जिलिड फर्मासिटिकल्सले उत्पादन गरेको रेमडिसिभिरलाई अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन ९एफडिए०ले कोभिड–१९ का संक्रमितमा प्रभावकारिता अध्ययन गर्न स्वीकृति दिएको छ । प्रभावकारी मानिएको यो औषधिको उत्पादन नेपालमा हुँदैन । विभागले दर्ता गर्न आनाकानी गर्दा नेपाली बजारमै कालोबजारी बढ्ने देखिएको छ ।

औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीका अनुसार आपतकालीन प्रयोगका लागि स्पष्ट कानुन नहुँदा समस्या देखिएको बताए । उनले भने, ‘आपतकालीन प्रयोग गर्न कार्यविधि बनेको छ । स्वीकृत भएपछि समस्याको हल निस्किन्छ । छिटोभन्दा छिटो प्रक्रियामा ल्याएर अगाडि लैजानुपर्छ ।’ केही दिनअघि कोरोना संक्रमण देखिएका डा। ज्ञानेन्द्रमान सिंह कार्कीका लागि ‘रेमडिसिभिर’ औषधि नभई नहुने भएपछि कोलकाताबाट मगाइएको थियो ।

औषधि सल्लाहकार समितिको बैठक बसेको वखत अनुमोदन हुने गरी विभागले निर्धारण गरेको कार्यविधिअनुसार कोभिड–१९ मा प्रयोग हुने रेमडिसिभिर र फेभिपिरेभिर औषधिको आपतकालीन प्रयोगका लागि सिफारिस प्रदान गर्न विभागलाई निर्देशन दिन स्वास्थ्य मन्त्रालयमा अनुरोध गरिएको थियो ।

स्वास्थ्य मन्त्रालयले ‘रेमडिसिभिर’ औषधिको आपतकालीन प्रयोगको अख्तियार सम्बन्धमा औषधि व्यवस्था विभागलाई पत्र पठाएको थियो । पत्रमा भनिएको छ, ‘स्वास्थ्य मन्त्रालयमा गठित हेल्थ टेक्नोलोजी एस्सेसमेन्ट कमिटीको गत ६ साउनको बैठकको सिफारिसबमोजिम रेमडिसिभिर कोभिड–१९ को उपचारका लागि आपतकालीन प्रयोगका लागि प्रक्रिया अघि बढाउन १४ साउनको निर्णयअनुसार जानकारीका लागि अनुरोध छ ।’

नेपाल चिकित्सक संघले समेत नेपाल मेडिकल माउन्सिलको निर्देशिकामा उल्लेख भएका अत्यावश्यक औषधि, इन्जेक्सन, रेमडिसिभिरलगायतका कोभिड उपचारमा आवश्यक पर्ने भेन्टिलेटर र अक्सिजन वृद्धि गर्न सरकारलाई अनुरोध गरेको थियो । चिकित्सकका अनुसार कोरोना संक्रमित बिरामीलाई सामान्य औषधि उपचार र अक्सिजनले नभ्याएपछि आइसियूमा राखेर उपचार गर्ने क्रममा सुईमार्फत रेमडिसिभिर औषधि दिइन्छ ।

नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिज (एनआइएआइडी)का अनुसार अमेरिकाका अस्पतालमा भर्ना भएका १ हजार ६३ कोरोना संक्रमितमा गरिएको अध्ययनमा अन्य औषधिभन्दा यो एन्टिभाइरल प्रयोग गरेकाहरूमा प्रभावकारिता राम्रो भएको र चाँडो निको भएको जनाएको छ । यो परीक्षणलाई ‘एडप्टेड कोभिड–१९ ट्रिटमेन्ट ट्रायल’ (एसिटिटी) नाम दिइएको थियो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले विश्व स्वास्थ्य संगठनको आग्रहमा रेमडिसिभिरलगायत अन्य तीन किसिमका औषधिको वैशाखमै तेस्रो चरणको क्लिनिकल ट्रायलमा सहभागी हुने निर्णय गरेको थियो ।

मृतकको संख्या ७९ पुग्यो

सोमबार देशभर थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँके र पर्सामा १(१ र काठमाडौंमा २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७९ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । नेपालमा कोरोना संक्रमित हुनेको संख्या २३ हजार ३ सय १० जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ सय ४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १६ हजार ४ सय ९३ जना उपचारपछि निको भएका छन् । हालसम्म ४ लाख ५२ हजार २ सय ३६ जनाको आरटी–पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ ।

देशभर १० हजार ७ सय ५९ जना क्वारेन्टिनमा बसेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ३८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्