नारायणी अस्पतालका साढे ३ सय कर्मचारीले दिए सामूहिक राजीनामा



वीरगञ्ज : नारायणी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि ३ सय ५० भन्दा बढी कर्मचारीले सामूहिक राजीनामा दिएका छन् ।

कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको ‘हटस्पट’ वीरगञ्जामा संक्रमितको उपचारमा सक्रिया स्वास्थ्यकर्मीमाथि २० वर्षीय युवतीको उपचारका विषयलाई लिएर आक्रमण भएको थियो ।

गत शुक्रबार वीरगञ्ज छपकैयाकी युवतीमा श्वासप्रश्वासमा समस्या आएपछि सुरुमा एड्भान्स मेडिकेयर सेन्टरमा लगिएको थियो । त्यहाँ भर्ना गर्न नमानेपछि ती युवतीलाई नारायणी अस्पतालमा ल्याइएको थियो ।

नारायणीका डाक्टर तथा नर्समा समेत संक्रमण देखिएका कारण कोरोना संक्रमित बाहेकका बिरामीलाई भर्ना गरिएको थिएन । त्यसपछि ती बिरामीलाई बयोधा अस्पतालमा लगिएको थियो । तर, त्यहाँ पनि भर्ना लिन नमानेपछि नेसनल मेडिकल कलेजमा लगिएको थियो । मेडिकल कलेजले पनि भर्ना लिन नमानेपछि अन्तिममा नारायणी अस्पतालकै अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो । तर, उपचारका क्रममा शनिबार ती युवतीको मृत्यु भएको थियो । मृत्युपछि गरिएको कोरोना परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

यही विषयलाई लिएर छपकैयाका करिब एक सय जति मानिसले नारायणी अस्पताल तोडफोड गर्नुका साथै चिकित्सकहरुमाथि हातपात गरेका थिए ।

उनीहरुको आक्रमणबाट अस्पतालका झ्यालका सिसा फुट्नुका साथै स्वाब संकलन गर्ने बुथमा समेत क्षति भएको छ थियो भने चिकित्सकहरु विरुद्ध नाराबाजी समेत गरेका थिए ।

यता चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र अन्य कर्मचारीले आक्रमणकारीलाई कारबाही गर्नुपर्ने, अस्पतालमा आक्रमणपछि भएको क्षतिको क्षतिपूर्ति र शान्ति सुरक्षाको माग राख्दै सामूहिक राजीनामा बुझाएका हुन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले संक्रमितको उपचारमा चौबिसै घण्टा सक्रिय रुपमा खटेका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने, सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने जस्ता कार्य भएपछि बाध्य भएर सामूहिक राजीनामा बुझाएको बताए ।

नारायणी अस्पतालले नारायणी अस्थायी कोभिड अस्पतालमा सहित हालसम्म ११ सयभन्दा बढी कोरोना संक्रमितको उपचार गरेको छ । संक्रमितको उपचारमा खटिएका ५० भन्दा बढी स्वास्थ्यकर्मीलाई समेत कोरोना संक्रमण देखिएको छ ।

यता अस्पतालमा आक्रमण गर्ने ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : साउन २८, २०७७

प्रतिक्रिया दिनुहोस्