जिल्ला प्रशासन कार्यालय धनुषाको सेवा भोलिदेखि “सटडाउन”



जनकपुरधामः जिल्ला प्रशासन कार्यालय धनुषाबाट प्रवाह हुने अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरु भोली (शुक्रबार) देखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ ।

जिल्लामा कोरोना संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दै गएको अवस्थालाई दृष्टिगत गर्दै सुरक्षा सतर्कता अपनाउन अर्को सूचना जारी नभएसम्मका लागि यस्तो निर्णय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

उनले भने,‘जुन सेवा अहिले नदिइहुन्न, ती सेवाहरु सुचारु नै रहनेछन् तर, जुन सेवा दिँदा जोखिम बढ्ने सम्भावना हुन्छ, त्यस्ता सेवाहरु तत्कालका लागि बन्द गरेका छौं ।’

उनले नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, संस्था दर्ताका साथै पत्रपत्रिका दर्ता र नवीकरण, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण, नाबालक परिचय वितरण र अन्य अत्यावश्यक नभएका सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको बताए ।

त्यस्तै अत्यावश्यक सेवा अन्तर्गत शान्ति सुरक्षासम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी, मुद्दासम्बन्धी कार्य र विपद् व्यवस्थापनसम्बन्धी कार्यहरु सञ्चालन रहने प्रजिअ भट्टराईले जानकारी दिए । संक्रमण बढिरहेका बेला जिल्ला प्रशासन कार्यालयको क्षेत्राधिकारभित्र रहेर सेवा सटडाउन गर्ने निर्णय गरिएको उनले बताए ।

प्रकाशितः साउन २९, २०७७

प्रतिक्रिया दिनुहोस्