प्रहरी चौकीमा जनप्रतिनिधिको गुण्डागर्दी, सईले समाते, एसपीले छाडे



वीरगन्ज : वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवामा रहेको इलाका प्रहरी कार्यालयमा वडा सदस्यले मदिरा सेवन गरी गुण्डागर्दी गरेको घटना सार्वजनिक भएको छ । शनिबार बेलुकी मदिरा सेवन गरी मातिएका वडा सदस्य कृष्ण कुशवाहाले चौकीमै आएर ड्युटीमा रहेका प्रहरीलाई अमर्यादित व्यवहार गरेका हुन् । 

टोलमा भएको सामान्य विवादबारे छलफल गर्ने क्रममा मदिरा सेवन गरी पुगेका वडा सदस्य कुशवाहालाई प्रहरी कार्यालय भित्र छिर्न नदिएपछि उनले प्रहरीलाई तथानाम गाली गरेको चौकीका इन्चार्ज प्रमोद नेपालले बताए । 

प्रहरी कार्यालयमा जथाभाबी बोल्न र प्रहरीमाथि नै दुर्व्यवहार गर्न थालेपछि प्रहरी र स्थानीयले उनलाई सम्झाउने प्रयास गरेका थिए । तर, मदिराले मातिएका कुशवाहा प्रहरी माथि नै जाई लागे । सो क्रममा स्थानीय अजय पासवानलाई कुशवाहाले हातपात समेत गरेका थिए ।

उनलाई सम्झाउन गरिएको सबै प्रयास निरर्थक भएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । पक्राउ परेका कुशवाहालाई आवश्यक कारबाहीका लागि राती नै जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाइएको थियो । तर, कार्यालयका एसपी रेवती ढकालले वडा सदस्य कुशवाहालाई कारबाही गर्नुका साटो तुरुन्तै छाडिदिए ।

यस विषयमा हामीले एसपी ढकालसँग बुझ्दा उनले कुशवाहालाई नछाडिएको र सोही विषयमा अहिले कार्यालयमा छलफल भइरहेको बताए । यद्यपि, शनिबार कुशवाहाको छोरीको जन्मदिन परेकोले उनलाई राती नै थुनामुक्त गरिएको र बिहान पुनः कार्यालयमा उपस्थित गराइएको नाम सार्वजनिक नगर्ने सर्तमा जिल्ला प्रहरी कार्यालयका एक अधिकृतले बताए । 

अत्यधिक मदिरा सेवन गरी प्रहरी कार्यालय पुगेर ड्युटीमा रहेका प्रहरीलाई गाली गलौज गर्दै गुण्डागर्दी गर्ने वडा सदस्यलाई जिल्ला प्रहरी प्रमुखले नै संरक्षण गर्नुले काममा खटिएका प्रहरीको मनोबल निकै घटाएको तल्लो तहका प्रहरीको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्