३ दिनसम्म पार्टीको झण्डा आधा झुकाउने काँगेस धनुषाको निर्णय



जनकपुरधामः नेपाली काँग्रेस धनुषाले कोरोना संक्रमणबाट मृत्यु भएका जनकपुरका पूर्व मेयर कृष्ण गिरीको निधनप्रति शोक व्यक्त गरेको छ ।

नेपाली काँग्रेस धनुषाका सभापति महेश शंकर गिरीको अध्यक्षतामा आज (बिहीबार) बसेको पदाधिकारी बैठकबाट पार्टीका जिल्ला कार्यसमितिका पूर्व कोषाध्यक्ष समेत रहेका जनकपुरका पूर्व मेयर गिरीको निधनप्रति शोक व्यक्त गर्दै मृत आत्माको चिरशान्तिको कामना गरिएको हो ।

काँग्रेस धनुषाले जारी गरेको शोक संदेशमा भनिएको छ,‘गिरीको निधनबाट नेपाली काँग्रेस धनुषाले एक कुशल संगठनकर्ता एवं अग्रज व्यक्तित्वलाई गुमाएको छ ।’ समाज एवं पार्टीमा स्वर्गीय गिरीले पुर्याएको योगदानको कदर तथा सम्मान गर्दै आजको बैठकले जिल्ला पार्टी कार्यालयमा शोक पुस्तिका राखी ३ दिनसम्म पार्टीको झण्डा आधा झुकाउने र पार्टीको दैनिक कामकारवाही स्थगित गरि शोक मनाउने निर्णय समेत गरिएको जिल्ला सभापति महेश शंकर गिरीद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

१५ दिनअघि कोरोना संक्रमित भएका गिरीको मंगलबार राती ७३ वर्षको उमेरमा उपचारको क्रममा काठमाण्डौस्थित मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

प्रकाशितः साउन २९, २०७७

प्रतिक्रिया दिनुहोस्