रामगोपालपुर नगरपालिकाले हरहिसाव सार्वजनिक गर्नुपर्ने माग गर्दै जसपाले बुझायो ज्ञापनपत्र



जनकपुरधामः महोत्तरीको रामगोपालपुर नगरपालिकाले हरहिसाव सार्वजनिक गर्नुपर्ने माग गर्दै जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरुले नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् ।

विगत एक महिनादेखि विभिन्न शिर्षकको सुचना माग गर्दा समेत नगरपालिकाले सुचना उपलब्ध नगराएको भन्दै जसपाले आज ज्ञापनपत्र बुझाएको हो ।

उनीहरुले डीपीआर सम्पन्न भएको योजना र समावेश भएको मिति, कार्य सम्पन्न मिति तथा प्रतिवेदनको प्रतिलिपी, उपभोक्ता समितिले काम गरेको विवरण, कोरोना रोकथाम तथा नियन्त्रणको नाममा गरिएको खर्चको विवरण सार्वजनिक गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
नगरप्रमुख अशोक कुमार मण्डल कार्यालयमा उपस्थित नरहेको समयमा कार्यकारी प्रमुखलाई ज्ञापनपत्र बुझाइको छ । नगरप्रमुखको चरम लपरवाहिले गर्दा नगरवासीहरु समस्यामा पर्दै गइरहेको जसपाका नेता कार्यकर्ताहरुको आरोप छ । नगरप्रमुख मण्डलले नगरको हरेक काममा आफ्नै नातागोताका व्यक्तिलाई राखेर करोडौं भ्रष्टाचार गर्न खोजेको उनीहरुले आरोप लगाएका छन् ।

जसपाका नेता श्यामबाबु यादवले भने,‘नगरप्रमुख मण्डल कमिसनको कुरा नमिलेसम्म भुक्तानी नै दिदैंनन् । तर, कमिसन लिएपछि काम सम्पन्न नभएको कामको पनि रकम निकासा अहिले समेत गरिरहेका छन् ।’ नगरप्रमुख मण्डलले डिपिआरदेखि राहत वितरणमा समेत भ्रष्टाचार गरेको उनको आरोप छ । नगरपालिकाले आफुहरुको मागउपर ७ दिन भित्र कुनै सुनुवाई नगरे कार्यालयमा तालाबन्दी गर्ने चेतावनी समेत उनीहरुले दिएका छन् ।

रामगोपालपुर नगरपालिकामा नगरप्रमुख मण्डल लगायतका समुहले भ्रष्टाचारको चरमसिमा नाघिसकेको जसपाका नेता शिवजी महतोले बताए । ज्ञापनपत्रबारे नगरप्रमुखले सुनुवाई नगरे बाध्य भएर तालाबन्दी गरि भ्रष्टाचार विरुद्ध कडा आन्दोलनमा उत्रने उनले चेतावनी समेत दिएका छन् ।

प्रकाशितः साउन २९, २०७७

प्रतिक्रिया दिनुहोस्