नेकपा अध्यक्षद्वय ओली-दाहालबीचको छलफल सकारात्मक



काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीचको छलफल सकारात्मक भएको छ ।

८ दिनपछि संवादहीनता तोड्दै भेटवार्ता गरेका दुबै अध्यक्षले पार्टीको पछिल्लो विवाद सुल्झाउने गरी सकारात्मक छलफल गरेको दाबी दाहालको सचिवालयले गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (बिहीबार) बिहान भएको ४ घण्टा लामो संवाद सकारात्मक भएकाेले शुक्रबार फेरि बस्ने भएको छ । आजको बैठकमा महाधिवेशनको कार्यतालिका, अधिकार बाँडफाँड, वैचारिक बहस, आलोचना र आत्मालोचना, मन्त्रिपरिषद् हेरफेर, मुख्यमन्त्रीहरु परिवर्तनलगायतका विषयमा छलफल भएको हो ।

ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा गर्नुपर्ने अडानमा दाहाल-माधव नेपाल पक्ष उभिएपछि पछिल्लो समय दुई नेताबीच संवाद नै हुन सकेको थिएन । प्रधानमन्त्री ओलीको राजीनामाका विषयमा नेकपाभित्र पछिल्लो ६ महिनायता अन्तरद्वन्द्व चर्किदा सरकारको काम प्रभावहीन भएको छ ।

छलफलमा महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी थिए । यसअघि बुधबार मात्र प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवाद ५ दिनभित्र सुल्झिने दाबी गरेका थिए ।

उनीहरुबीच साउन २० मा बालुवाटारमा छलफल भएयता कुनै संवाद भएको थिएन तर दोस्रो तहका नेता भने संवाद खुलाउने प्रयासमा छन् । नेकपामा ओलीको कार्यशैली र आचरणका कारण पार्टी र सरकारको साख गिरेको भन्दै दाहाल–नेपालसहितका नेताहरु ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने पक्षमा थिए ।

ओली भने कुनै हालतमा पद नत्याग्ने अडान राखेका छन् । ओलीमाथि निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता गराएको अरोपसमेत दाहाल-नेपाल पक्षले लगाएको छ ।

असार १० बाट शुरु भएको स्थायी कमिटी बैठकमा सदस्यहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि ओलीले दाहाललाई नसोधी बैठक स्थगित गरि दिएका थिए । स्थगित स्थायी कमिटी नचलाउने पक्ष ओली उभिँदा अरु नेताहरु बैठक चलाएर समाधान खोज्नुपर्ने बताएका छन् । १ सय ५२ केन्द्रीय सदस्यले केन्द्रीय कमिटीको बैठक राख्न लिखित रुपमा माग गरेका छन् ।

प्रकाशितः साउन २९, २०७७

प्रतिक्रिया दिनुहोस्