वीरगञ्जमा चिकित्सकसहित ४८ जनामा कोरोना संक्रमण



वीरगञ्ज : नारायणी अस्पतालको प्रयोगशालमा गरिएको पीसीआर परीक्षणमा भारतीय महावाणिज्य दूतावासका कर्मचारी तथा नारायणी अस्पतालका स्वास्थ्यकर्मी गरी ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायका अनुसार संक्रमित हुनेहरुमा ३६ जना पुरूष र १२ जना महिला छन् । संक्रमित हुनेमा २ वर्षको बालकदेखि ६९ वर्षका वृद्ध पुरुषसमेत छन् ।

बिहीबार अबेर राति प्रयोगशालमा गरिएको पीसीआर परीक्षणमा संक्रमण हुनेहरुमा बारा२१ जना, पर्साका २५ जना र महोत्तरीका दुई जनासहित थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । कन्ट्याक्ट ट्रेसिङका क्रममा परीक्षण गर्दा यति धेरै संक्रमित देखिएका हुन् ।

संक्रमितहरु हुनेहरुमा नारायणी अस्पतालका २७ बर्षकी एक जना महिला चिकित्सक, चार जना नारायणी अस्पतालमा कार्यरत कर्मचारी, दुई जना महिला र एक जना पुरुष सरसफाई कर्मचारी र तीन जना गेट पाले रहेका बताइएको छ ।

वीरगन्जस्थित रहेको भारतीय महावाणिज्य दूतावासका ३२ बर्षीय एक जना कर्मचारी र वीरगन्जमा रहेको ग्लोबल आइ एम ई बैंकका ४३ बर्षका एक जना पुरुष कर्मचारी रहेको मेसु उपाध्यायले जानकारी दिए ।

त्यसैगरी वीरगन्ज महानगरपालिका वडा नं. ११ श्रीपुरका एक, वडा नं. १० घडीअर्वा पोखरीका दुई, वडा नं. २ छपकैयाका दुई, वडा नं. १३ राधेमाइका दुई र वडा नं. ४,८,१४,१५,२५ का एक एकजना रहेका छन् ।

त्यसैगरी बाराको जितपुर सिमरा उपमहानगरपालिकाका विभिन्न वडाका २० जना, बाराकै बिश्रामपुरका २४ बर्षका एकजना पुरुष र महोत्तरीको जलेश्वरका ४ बर्षका एक बालक र ३७ बर्षकी एक जना महिला रहेकी उनले बताए ।

साउन २४ गते देखि २६ गते सम्मका स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा ४८ जना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्