कोरोनाको नाममा व्यापक घोटाला



जनकपुरधाम: कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको नाममा सिरहाको औरही गाउँपालिकाले व्यापक अनियमतता गरेको पाइएको छ ।

करिब साढे ५ हजार घरधुरी रहेको सो गाउँपालिकामा “कोरोना नियन्त्रण गर्नका लागि झुल वितरण” शीर्षकमा ५३ लाख ६९ हजार १ सय ९५ रुपैयाँ खर्च गरेको छ ।

गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई बुझाएको खर्च विवरण अनुसार २ करोड २० लाख ८० हजार ९ सय २९ रुपैयाँ खर्च गरेको हो । सो खर्च हिसाबमा सामग्री संख्या नदेखाई एकमुष्टै रकम खर्च भएको उल्लेख छ ।

गाउँपालिकाका जनप्रतिनिधि समेतले कोरोना नियन्त्रणमा काम गरेवापत लाखौं रुपैयाँ भत्ता लिएका छन् । स्थानीय तह सेवा सञ्चालन सम्बन्धी ऐन अनुसार कार्यपालिका बैठक बाहेक जनताको सेवा गरेवापत जनप्रतिनिधिले कुनै प्रकारको भत्ता लिन पाउने छैन । तर सो पालिकाका मेयर सिद्धार्थ यादवले भ्रष्टाचारलाई खुल्ला चुनौती दिंदै भत्ताको नाममा समेत ११ लाख ९६ हजार ६ सय रुपैयाँ झ्वाम पारेका छन् ।

पदाधिकारीलाई भत्ता दिइएको सम्बन्धमा उपप्रमुख सीता कुमारीसँग बुझन् खोज्दा उनले कार्यपालिका बोर्ड बैठकबाट नै यो निर्णय गरिएकोले सोही अनुसार भत्ता वितरण गरिएको बताईन् ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साहले भने,‘११ लाख ९६ हजार ६ सय रुपैयाँ एकमुष्ट रुपमा चेकमार्फत गाउँपालिका प्रमुख सिद्धार्थ यादवको खातामा जम्मा गरिएको छ । त्यो रकम कसलाई वितरण गरिएको हो भन्नेबारे प्रमुखलाई नै जानकारी होला ।’

गाउँपालिकाले सार्वजनिक गरेको खर्च हिसाब रकम जिल्ला प्रशासन कार्यालयमा बुझाइएको छ । पदाधिकारी भत्ता खर्च हिसाब बारे प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले कुनै चासो देखाएका छैनन् । यता, खुल्ला रुपमै भ्रष्टाचार गरिएको प्रति स्थानीयवासी आक्रोशित छन् । उनीहरुले तीन दिनअघि गाउँपालिकाको कार्यालय अगाडि प्रदर्शन समेत गरेका थिए ।

यति मात्र नभई गाउँपालिकाले कोरोना भाइरस रोकथाम खर्चमा एकमुष्टै २८ लाख २४ हजार ३ सय ८७ रुपैयाँ खर्च देखाएको छ तर कुन सामग्री खरीद गरिएको छ त्यसको सम्बन्धमा केही उल्लेख नगरी अनियमिता लुकाउन खोजिएको स्थानीयको आरोप छ ।

औरही गाउँपालिकाले कोरोना रोकथाम नियन्त्रणमा २८ लाख २४ हजार ३ सय ८७, क्वारेन्टाइन व्यवस्थापनमा ३२ लाख ५१ हजार २ सय ९२, राहत वितरण र व्यवस्थापनमा ८३ लाख ४२ हजार ३ सय ३२, स्वस्थ्यकर्मीको भत्तामा ८ लाख २ हजार ७ सय २३, कोरोना नियन्त्रण गर्नका लागि झुल वितरणमा ५३ लाख ६९ हजार १ सय ९५, कर्मचारी भत्तामा २ लाख ९४ हजार ४ सय र पदाधिकारी भत्ता शीर्षकमा ११ लाख ९६ हजार ६ सय गरि कुल २ करोड २० लाख ८० हजार ९ सय २९ रुपैयाँ खर्च गरेको उल्लेख छ ।

यस सम्बन्धमा स्टोरकिपर रामपृत यादवसँग सोधपुछ गर्दा उनले भने,‘साढे ६ हजारको दरले सामान्य र सुपानेट गरी १३ हजार झुल किनिएको छ । तर, किन त्यति संख्यामा झुल खरिद गरियो त्यस सम्बन्धमा प्रमुखलाई नै थाहा होला ।’

प्रकाशितः साउन ३१, २०७७

प्रतिक्रिया दिनुहोस्