थप ४६८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६ हजार नाघ्यो



काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा २४ घण्टामा ११ हजार ४७ जनाको पिसिआर परीक्षण गरिएकोमा ४६८ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै देशभर कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।

२४ घण्टामा १२४ जना कोरोनाबाट निको भई घर फर्किएका छन् । हालसम्म १७ हजार २०१ जना कोरोनाबाट मुक्त भई घर फर्किएका गौतमले बताए । पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । योसंगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या १०२ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ८ हजार १९३ रहेको छ । मन्त्रालयका अनुसार हाल नेपालका विभिन्न क्वारेन्टिनमा १४ हजार ४४८ जना रहेका छन् ।

प्रकाशितः साउन ३१, २०७७

प्रतिक्रिया दिनुहोस्