सिरहा नगरपालिकामा थप १५ दिन लकडाउन



जनकपुरधाम : कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिसकेकोले सुरक्षा सतर्कता अपनाउन सिरहा नगरपालिकाले थप १५ दिन लकडाउन गर्ने निर्णय गरेको छ ।

साउन २५ गते राती १२ बजेदेखि लगाइएको लकडाउन आइतबार राती १२ बजे सकिन लाग्दा लकडाउनको अवधि दोश्रो पटक भदौ १५ गते राति १२ बजेसम्मका लागि थपिएको सिरहा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलराम यादवले जानकारी दिए ।

लकडाउन अवधिभर नगरभित्र अतिआवश्यक औषधि पसल, ढुवानी सेवा, एम्बुलेन्स खाद्यान्न, दुध तथा खानेपानीका गाडी, किराना पसल र तरकारीको ठेला रिक्सा बिहान ६ बजे देखि ९ बजेसम्म मात्र खोल्ने निर्णय गरिएको यादवले बताए ।

साथै गोलबजार नगरपालिकामा पनि भदौ १५ गते सम्मका लागि लकडाउन गरिएको हो । जिल्ला स्तरीय डी–सीसीएमसी र नगर स्तरीय सीसीएमसीको आइतबारको निर्णय अनुसार आज राती १२ बजेदेखि लागू हुने गरी लकडाउन गर्ने निर्णय गरिएको हो ।

गोलबजार नगरपालिकामा साउन ३२ गते राती १२ बजेदेखि लागु हुने गरि भदौ १५ गते राती १२ बजेसम्मका लागि लकडाउन गर्ने निर्णय गरिएको नगरप्रमुख देवनाथ साहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्