भदौ ७ गतेसम्मका लागि धनुषा जिल्लाभरी निषेधाज्ञा



जनकपुरधाम : आज राती १२ बजेदेखि लागु हुनेगरि धनुषा जिल्लाभरी एक हप्ताका लागि निषेधाज्ञा लगाइएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जिल्लाभरि नै कोरोनाको जोखिम बढ्दै गएको र समुदाय स्तरमा कोरोना फैलिएकोले निषेधाज्ञाको समयअवधि साउन ३२ गते आईतबार राती १२ बजेदेखि लागु हुने गरि आगामी भदौ ७ गते आईतबार राति १२ बजेसम्मका लागि जिल्लाभरि थपिएको जानकारी दिए ।

प्रजिअ भट्टराईले कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्लाभरी प्रतिकूल प्रभाव पर्नसक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा र स्थलहरु फेरि आगामी ७ दिनसम्मका लागि स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णय अनुसार धनुषा जिल्लाभरि निषेधाज्ञा जारी गरिएको प्रजिअ भट्टराईले जानकारी दिए ।

प्रशासनले सबै प्रकारका पसलहरु बिहान १० बजेसम्म सञ्चालन गर्न पाईने जनाएको छ । व्यापार व्यवसाय सञ्चालन गर्दा विक्रेताले पञ्जा, मास्क तथा स्यानिटाईजरको प्रयोग गरि सामाजिक दूरी कायम गरि मात्र सञ्चालन गर्न पाउने तथा क्रेतालाई समेत अनिवार्य रुपमा स्वास्थ्य सुरक्षा सामग्री प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले आग्रह गरेका छ । साथै घरभाडामा बस्ने स्वास्थ्यकर्मीहरुलाई घरधनीले दुव्र्यवहार गर्ने गरेको बुझिएकोले त्यसो गरेको फेला परेमा कानून बमोजिम कारवाही गर्ने चेतावनी समेत दिईएको छ ।

औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा, मालसामान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डारण र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युत सेवा, कृषिजन्य कार्य तथा कृषि तथा पशुपंक्षीजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन, वर्कशपलाई अत्यावश्यक सेवा उल्लेख गरेको छ ।

प्रशासनको यस आदेशलाई उल्लंघन गर्ने व्यक्तिलाई कानून बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्