वीपी प्रतिष्ठानमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार शुरु



विराटनगर : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमित व्यक्तिको उपचार शुरु भएको छ ।

सोमबार राति प्रतिष्ठानको कोभिड अस्पतालमा चिकित्सकले पहिलो पटक प्लाज्मा थेरापी शुरु गरेका हुन् ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार गत साउन ३० गते प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना भएका धरानकै ६७ वर्षीय संक्रमितमा पहिलोपटक प्लाज्मा थेरापीबाट उपचार थालिएको छ ।

कोरोना संक्रमणबाट निको भएका मोरङको सुन्दर हरैचा नागरपालिकाका एक युवाले प्लाज्मा दान गरेपछि संक्रमित वृद्धालाई प्लाज्मा चढाइएको प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख डा. संजिवकुमार शर्माले जानकारी दिए ।

सो क्रममा उनको स्वास्थ्य प्रतिकुल बन्दै गएपछि प्रतिष्ठानले राति १० बजे करिब १ घण्टाको समय लगाएर थेपारी दिइएको प्रतिष्ठानले जनाएको छ । तर संक्रमितको अवस्था भन्न समय लाग्ने बताइएको छ ।

प्लाज्मा थेरापी गर्न कोरोना संक्रमणबाट निको भएका व्यक्तिको रगत आवश्यक पर्दछ । कोरोना निको भएका व्यक्तिको शरीरमा भाइरससँग लड्न एन्टिबडी उत्पादन भएको हुनाले प्लाज्मा छुट्याएर संक्रमितलाई प्लाज्मा चढाइएको डा. शर्माले बताए ।

यसपटक सफलता हात लागे थप गम्भीर संक्रमितमा उपचार पद्धति सुरु गर्न सकिने उनको भनाइ छ ।

प्रकाशित : भदौ २, २०७७

प्रतिक्रिया दिनुहोस्