संघीय समाजवादी फोरम पर्सामा विवाद, असन्तुष्ट पक्षद्वारा समानान्तर कमिटी गठन 



वीरगन्ज : संघीय समाजवादी फोरम नेपाल पर्सामा भएको विवाद समाधान गर्न मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा बैठक चलिरहेको अवस्थामा वीरगन्ज महानगरपालिकाको वडा नम्बर १७ मा समानान्तर कमिटी गठन भएको छ । 

केन्द्रीय सदस्य शशि कपुर मियाँ गुटका आमोद यादवको अध्यक्षतामा १३ सदस्यीय समानान्तर कमिटी गठन भएको हो । जसको उपाध्यक्षमा शेख सलामत मियाँ, सचिवमा जयराम प्रसाद साह, सह सचिवमा अखलेश श्रीवास्तव र कोषाध्यक्षमा ध्रुव सहनी मलाह रहेका छन् । 

जिल्ला सदस्य वीरेन्द्र यादवले आफ्नै काकालाई वडा कमिटीको अध्यक्ष बनाएपछि असन्तुष्ट रहेका अन्य नेता कार्यकर्ताहरूले मङ्गलवार भेला बोलाएर समानान्तर कमिटी गठन गरेका हुन् । 

जिल्लामा पार्टी भित्र विवाद बढ्दै गएपछि पार्टीका राष्ट्रिय उपाध्यक्ष समेत रहेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले गुट उपगुटको समस्या समाधान गर्न आजदेखि पहल सुरु गरेका थिए । 

पार्टीका केन्द्रीय सदस्य मियाँले वीरगन्जमा पत्रकार सम्मेलन नै गरेर जिल्ला अध्यक्ष यादव गुटले अलोकतान्त्रिक, अवैधानिक तथा गैर राजनीतिक तरिकाले वडा, नगर, गाउँपालिकाहरूको कमिटी गठन गर्न प्रतिनिधि खटाएको प्रति आपत्ति जनाउँदै तुरुन्त खारेज गर्न माग गरेका थिए ।

तर, पार्टीमा एकलौटी नरोकिएपछि बाध्य भएर समानान्तर कमिटी गठन गर्नुपरेको असन्तुष्ट पक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्