सुदूरपश्चिममा बाढीपहिरोमा पुरिएर १४ को मृत्यु, ५ जना वेपत्ता



धनगढीः सुदूरपश्चिममा एकै दिन बाढीपहिरोमा पुरिएर १४ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन् ।

अछाम जिल्लाको रामारोशन गाउँपालिका वडा नं.५ सैनीबजारमा मंगलबार राति बाढीले २४ घर बगाउँदा त्यहाँ रहेका १२ जनाको मृत्यु भएको हो ।

पाँच जना अझै वेपत्ता छन् । बझाङको बुङगल नगरपालिका वडा नं. मिडिगाउँका प्रताप ताम्राकारको घरमाथि आज विहान ३ बजे पहिरो खसेको थियो ।

प्रतापकी ४० वर्षीय श्रीमती पिपला, १६ वर्षीय छोरा अनिल, १० वर्षीय छोरी सन्तोषी र १८ वर्षीया छोरी सुनिता ताम्राकारको उद्धार गरेर स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक गणेश बमले जानकारी दिए । घाइतेहरुको अवस्था सिकिस्त रहेको उनले बताए ।

पहिरोमा पुरिएर बेपत्ता भएका १२ वर्षीय छोरा सचिन ताम्राकार र फुपुको घरमा आएका ५ वर्षीय डम्वर ओखेडा मृत अवस्था फेला परेको प्रहरी नायव उपरीक्षक बमले बताए । पहिरोले ताम्राकारको घरमा भएका सबै सर-सामान पुरिएका छन् ।

त्यस्तै सुदूरपश्चिममा पछिल्लो दुई महिनामा बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ५१ पुगेको छ । सबैभन्दा बढी अछाममा बाढीमा बगेर १२ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन् । २२ घर परिवार विस्थापित भएका छन् ।

बझाङमा १२ जनाको मृत्यु भएको छ भने २३ परिवार पुर्ण रुपमा विस्थापित भएका छन् । ५२ घरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । बाजुरामा बाढी र पहिरोमा परेर असार यता ६ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । जिल्लाका १ सय २२ घरधुरी विस्थापित भएका छन् ।

६८ घर परिवारमा आंशिक क्षति पुगेको बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रले जानकारी दिए । दार्चुलामा बाढी र पहिरोमा परेर बुधबारसम्म १० जनाको मृत्यु भएको छ । झण्डै ५० घरधुरी विस्थापित भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक पदमसिंह विष्टले जानकारी दिए ।

डोटीमा एक र बैतडीमा दुई जनाको पहिरोमा परेर ज्यान गएको छ । कैलालीमा सात र कञ्चनपुरमा एक जनाको बाढीले मृत्यु भएको प्रहरीको तथ्यांक रहेको छ ।

प्रकाशितः ३ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्