यौन सम्पर्कले कुन उमेरमा के फाइदा ? यस्ताे छ विज्ञकाे भनाइ



काठमाडाैंः नियमित यौन सम्पर्कले स्वास्थ्यलाई धेरै फाइदा पुर्‍याउँछ । ‘मुड’ बनाउने हर्माेन उत्पादन गर्छ। अझ महत्वपूर्ण – ‘पार्टनर’सँग एकदमै न्यानो र नजिकको सम्बन्ध बनाउँछ।

‘अर्‍ग्याजमका कारण उत्पादन हुने एन्डोर्फिनले तपाईंको मुड बन्छ । कसरत गर्दा र गरिसकेपछि जस्तो अनुभव हुन्छ, ठ्याक्कै त्यस्तै,’ स्ट्यान्फोर्ड विश्वविद्यालयकी  स्त्रीरोग विशेषज्ञ लियाह मिल्हाइजर बताउँछिन् । अर्‍ग्याजमले मानिसको मुड फ्रेस गर्ने अर्काे हर्माेन अक्सिटोसिन पनि उत्पादन गर्ने उनले बताइन् । यसले यौनसाथीबीच गहिरो सम्बन्ध निर्माण गर्न सहयोग गर्दछ।

यी त जीवनपर्यन्त हुने फाइदा हुन् । निश्चित उमेरमा शारीरिक आत्मविश्वास बढाउनु र तनाव कम गर्नुको महत्व बढ्दै जान्छ। उमेरले २०, ३०, ४० र त्यसपछिको उमेरमा सेक्सले पुर्‍याउने केही फाइदाबारे यहाँ चर्चा गरिएको छ।

उमेर र व्यक्ति अनुसार यौन अनुभव पनि भिन्न हुन्छ। सामान्यतया, २० को दशकमा नियमित यौन सम्पर्कबारे मानिस जानकार नहुने मिल्हाइजर बताउँछिन्।

‘यसलाई रचनात्मक वर्षको रूपमा लिनुहोस् । यो दशकमा यौन सम्बन्धी धेरै प्रयोगहरू हुनसक्छन्,’ उनी भन्छिन्।

यो उमेरमा आफ्नो शरीर र यौन अभिरूचिबारे सिक्ने अवसर पाइन्छ। यौन अभिमुखिकरण र यौनसुख प्राप्त गर्ने आसन पत्ता लगाउन सकिन्छ । सेक्सुअल फ्यान्टसी पनि यो उमेरमा पुरा गर्न सकिन्छ।

पीडादायी यौन सम्पर्क लगायत यौन समस्या समाधान गर्ने यो उचित समय पनि हो। ‘यौन सम्पर्क राख्दा केही अप्ठ्यारो अनुभव हुनसक्छ जसले यौनको पूर्ण आनन्द लिन सकिँदैन,’ मिल्हाइजर भन्छिन् । पीडा कम नभए वा अर्‍ग्याजम प्राप्त नभए, स्वास्थ्य सम्बन्धी गम्भीर समस्या भए–नभएको पत्ता लगाउन विशेषज्ञ चिकित्सकको परामर्श लिनुहोस्।

तीस वर्ष पुगेपछि विवाह, परिवार र कामले प्राथमिकता पाउँछ । यसले जीवनमा तनाव बढाउँछ । यो उमेरमा यौन सम्पर्कले प्राथमिकता नपाउन सक्छ तर यसलाई महत्व दिन मिल्हाइजर जोड दिन्छिन्।

‘थुप्रै सम्बन्धका लागि यौन महत्वपूर्ण छ भनेर सम्झिनु महत्वपूर्ण छ र यसलाई प्राथमिकतामा राख्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ,’ उनले भनिन्।

यौन सम्पर्कले अक्सिटोसिनजस्तो हर्माेन उत्पादन गर्दछ । यसले तपाईंलाई आफ्नो यौनसाथीसँग नजिक बनाउँछ र सम्बन्ध बलियो बनाउन सहयोग गर्दछ। यसले तनाव पनि कम गर्दछ । मिल्हाइजरका अनुसार यौन सम्पर्क राख्दा प्रोल्याक्टिन भनिने अर्काे हर्माेन पनि उत्पादन हुन्छ । यसले निद्रा लाग्ने हुन्छ । यौन सम्पर्कपछि मीठो निद्रा निदाउन ठूलो मद्दत पुग्छ।

चालीसको उमेरमा मानिसमा यौन सम्बन्धलाई लिएर आत्मविश्वास बढ्दछ। यसको कारण पनि छ। उनीहरूले यस बेलासम्म आफ्नो शरीर र अभिरूचिबारे धेरै थाहा पाइसकेका हुन्छन्। चालीसको उमेरमा यौन सम्पर्कले तनाव न्यूनीकरण र बढी आत्मीयताको फाइदा दिनुका साथै अझ आनन्ददायी पनि हुन्छ। किनभने आफ्नो चाहनालाई कसरी व्यक्त गर्नेबारे थाहा पाइसकेको हुन्छ।

यसबाहेक ४० को दशकको यौन सम्बन्धले यौनजोडीलाई आत्मीय सम्बन्धमाथि ध्यान केन्द्रित गर्ने समय दिन्छ। बिस्तारै प्राथमिकता र जिम्मेवारीहरू कम हुँदै जान्छन्।

‘सन्तानको स्याहार र करिअर बनाउनेजस्ता प्राथमिकता नहुने भएकाले मानिसहरूले आफ्नो यौनसाथीलाई समय र बढी ध्यान दिनसक्छन,’ नर्थवेस्टर्न मेमोरियल हस्पिटलकी सहायक प्राध्यापक लरा बर्‍म्यानले भनिन् ।

५० वर्ष पुगेपछि महिलाको महिनावारी बन्द हुन्छ । नेसनल इन्स्टिच्युट अन एजिङका अनुसार सामान्यतया ४५ देखि ५५ वर्षको उमेरमा महिनावारी बन्द हुन्छ । यतिबेला एस्ट्रोजन र प्रोजेस्टेरोनको मात्रामा उथलपुथल हुन्छ । चिडचिडो हुने, निद्रा नलाग्ने र योनी सुक्खा हुनसक्छ।

योनीको सुक्खापन र यौन चाहनाको कमीले यौन आनन्द लिन कठिनाइ हुने भएकाले ‘लुब्रिकेन्ट’ ले निकै राहत दिने मिल्हाइजर बताउँछिन्।

‘महिनावारी बन्द भएपछि स्वस्थ यौन जीवनका लागि धेरै मेहनत गर्नुपर्छ। तर यसो गर्नाले योनीमा रगतको प्रवाह बढ्छ जसले योनीलाई स्वस्थ राख्न सहयोग पुग्छ,’ उनले भनिन्। अर्‍ग्याजम पाउन गाह्रो भए यौन सम्पर्क राख्दा ‘भाइब्रेटर’ प्रयोग गरे निकै सहयोग पुग्छ।

उमेर बढ्दै गएपछि योनीमा लिंग वा अन्य यौन साधन प्रवेश गराएर यौन सम्पर्क राख्ने कार्य जति कम गरिन्छ, त्यति नै बढी योनी साँघुरो र हानी पुग्न सम्भावना हुन्छ। ‘भ्याजिनल एट्रोफी’ ले यौन सम्पर्क राख्दा र पिसाब गर्दा पीडा हुन्छ। यतिबेला पिसाब नरोकिने लगायतका समस्या पनि हुन्छ । पचास वर्ष पुगेपछि यस्ता लक्षण र समस्या रोकथाम गर्न सहयोग पुग्छ। 

इन्साइडरबाट अनुदित

प्रतिक्रिया दिनुहोस्