बिक्री भएनन् माटोका भाँडावर्तन



सुनसरी : गत वर्षको चौठचन्द्र्र (चौरचन) पर्वमा सुनसरी इनरुवा–२ का दरपी पण्डितले माटोको भाँडाको बिक्रीबाट ६० हजारदेखि ७० हजारसम्म आम्दानी गरेका थिए । उनले पर्वलाई आवश्यक पर्ने छाछ, छाछी, दियो र कौरना लगायतका माटोका भाँडा बनाएर बिक्री गरी सो आम्दानी लिएका थिए । यस बर्ष भने २० हजारदेखि ३० हजारसम्म समेत आम्दानी लिन मुश्किल रहेको उनले गुनासो गरे ।

त्यसैगरी इनरुवा–२ लक्ष्मी पण्डितले पनि गत बर्षको सो पर्वमा ३० हजारदेखि ४० हजारसम्म आम्दानी लिनुभएको थियो । उनले भने,“यस वर्षको पर्वमा अपेक्षाकृत आम्दनी लिन सकिएन । ” यी दुई जना पण्डित अर्थात कुम्भकार समुदाय सुनसरीका लागि उदाहरणका पात्र मात्र हुन् । इनरुवा सहित कोशी, हरिनगर, देवागञ्ज, भोक्राहा नरसिंह, दुहबी लगायतका क्षेत्रमा रहेका ती समुदायले यस वर्ष माटोको भाँडाबाट अपेक्षाकृत आम्दानी गर्न नसकेको बताएका छन् ।

कोरोनाको जोखिम हुन नदिन स्थानीयतह र जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका कारणले भाँडावर्तन बनाएको भएपनि विक्री वितरण हुन नसकेको लक्ष्मीले जानकारी दिए । चाडपर्व लक्षित गरेर विभिन्न किसिमको माटोका भाँडा बनाएको भएपनि लकडाउनका कारणले स्थानीय स्तरमा लाग्ने हाटबजार नलागेकाले समस्या भएको कुम्भकार समुदायले जनाएका छन् ।

नेपाल प्रजापति कुम्भकार सङ्घका सुनसरीका अध्यक्ष ज्ञानदेव पण्डितले माटोका भाँडा वर्तनको बिक्रीबाट आएको आम्दानीबाट घरपरिवार चलाउदै आएकोमा यस बर्ष हाटबजार नलागेको कारण झन् समस्या भएको बताए ।

अर्को तर्फ ती समुदायले स्थानीय तहले कोरोना भाइरस महामारीका बेला राहत नदिएको गुनासो गरेका छन् । आफूलाई एक पटक मात्र राहत दिएकाले कसरी घर परिवार चलाउने भन्ने समस्याले पिरोली रहेको लक्ष्मीको भनाई छ । माटो र दाउराको अभाव रहँदा भाँडावर्तनले बजार नपाउदा निकै समस्या हुने गरेको कुम्भकार समुदायले बताएका छन् ।

बनाएको माटोका सामग्री बिक्री वितरण नभएको र लगानी अनुसारको आम्दनी नभएकाले युवा पुस्ताको यस पेशा प्रति आकर्षण घटेको कुम्भकार समुदायका अगुवा ज्ञानदेवको भनाई छ ।

विभिन्न राजनीतिकदलले कुम्भकार समुदायलाई भोट बैंकको रुपमा मात्र प्रयोग गर्ने गरेको जनाउँदै आफ्नो समुदायको समस्या प्रति स्थानीय, प्रदेश र संघीय सरकार उदासिन भएको सङघ उपाध्यक्ष पण्डितले बताए । तराई मधेश क्षेत्रमा आगामी शनिबार चौठचन्द्र पर्व मनाइँदै छ ।

प्रतिक्रिया दिनुहोस्