डर्टी कार्गो व्यवस्थापन गर्न वाणिज्य विभागको अवलोकन 



वीरगन्ज : भारतबाट आयातीत डर्टी कार्गो (धुलो सामान) को लोडिङ्ग, अनलोडिङ्ग, भण्डारण तथा व्यवस्थापनका क्रममा नेपाली आयातकर्ताले झेल्दै आएकने समस्या निराकरणका लागि वीरगन्ज आएको एक टोलीले स्थलगत अवलोकन गरेको छ।

वाणिज्य तथा आपूर्ति व्यवस्था विभागका उपसचिव तर्कराज भट्ट, शाखा अधिकृत मुक्तिराम रिजाल, इन्जिनियर प्रकाश पौडेलसहितको टोलीले लोडिङ्ग, अनलोडिङ्ग प्रयोजनको लागि वीरगन्ज महानगरपालिका वडा नम्बर १७ मा अलौं र सुक्खा बन्दरगाह बीचमा रहेको जमीन उपयोगमा ल्याउन उपयुक्त हुने नहुने सम्बन्धमा स्थलगत अवलोकन गरेका हुन्।

नेपालका लागि आयातीत डर्टी कार्गोको भण्डारण रक्सौलमा हुँदै आएकोमा विगत केही वर्षदेखि आम नागरिकले भण्डारण तथा लोडिङ्ग–अनलोडिङ्गका कारण प्रदूषण बढेको भन्दै व्यापक विरोध गर्दै भण्डारणमा रोक लगाएका थिए। स्थानीयको विरोधका कारण नेपाली आयातकर्ताले ठूलो रकम डेमरेज र डिटेन्सनको रुपमा तिर्नुपरेको थियो।

रक्सौलमा डर्टी कार्गोको भण्डारणमा अवरोध सिर्जना गरेका कारण पूर्ण रुपमा डर्टी कार्गोमा आधारित नेपाली उद्योगहरू कच्चा पदार्थको अभावमा बन्द हुने संघारमा समेत पुगेको वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक बैद्यले बताए।

भारतबाट आयात हुने डर्टी कार्गोको भण्डारण नेपालभित्रै गर्नुपर्ने सरकार समक्ष वीरगन्ज उद्योग वाणिज्य संघले आग्रह गर्दै आएकोमा सोही मागलाई सम्बोधन गर्न विभागबाट अलौ र सुक्खा बन्दरगाहा बीचको खाली जग्गाको स्थलगत अवलोकन गरिएको पूर्व अध्यक्ष बैद्यले बताए। 

प्रतिक्रिया दिनुहोस्