काठेपाेल हटाउन १९ कराेडभन्दा बढी खर्च !



गोरखा : हावाहुरी र झरीले काठे पोल ढलाएर विद्युत अवरोध भएपछि गोरखामा यस्ता पोल हटाएर फलामे पोल वा स्टिल पोल राख्ने अभियान थालिएको छ ।

 

जसका लागि १९ करोड भन्दा बढी खर्च लाग्ने भएको छ । विद्युत प्राधिकरण, साविक जिल्ला विकास समिति तथा निर्वाचिन क्षेत्र विकास कार्यक्रमको बजेटले काठे पोलमुक्त अभियान सञ्चालन गरिएको हो ।

 

विद्युत प्राधिकरणको गोरखा वितरण केन्द्रका अनुसार हालसम्म काठे पोल विस्थापन गरी फलामे पोल राख्न १९ करोड ३१ लाख ५ हजार रुपैयाँ खर्च भइसकेको छ ।

 

आर्थिक वर्ष २०६८/०६९ देखि हालसम्म १३ हजार एकसय ५१ थान काठे पोल विस्थापन गरी फलामे पोल प्रतिस्थापन गर्दा सो रकम खर्च भएको केन्द्रका प्रमुख माधव न्यौपानेले जानकारी दिए । आर्थिक वर्ष २०६८/६९ मा १ करोड ५९ लाख ५० हजार रुपैयाँको लागतमा ६ सय ३८ काठका पोल हटाएर फलामको पोल राखिएको छ ।

 

२०६९/७० मा ७१ लाख ५५ हजार रुपैयाँले २ सय ६५ थान पोल फेरिएको छ । २०७०/७१ मा १ हजार २ सय ११ थान काठका पोल हटाउन २ करोड ९५ लाख ९६ हजार रुपैया खर्च भएको वितरण केन्द्रले जनाएको छ ।

 

प्राधिकरणले विद्युत प्रशारण लाइन मर्मतसुधार शीर्षकमा वर्षेनी काठेपोल विस्थापन गर्दै आएको छ । उक्त शीर्षकमा आर्थिक वर्ष २०७१/७२ देखि साविक जिल्ला विकास समिति मार्फत पनि विद्युत रोयल्टी वापतको रकम फलामे पोल खरिदमा खर्च हुन थालेको केन्द्र प्रमुख न्यौपानेले बताए ।

 

सोही वर्ष ४ करोड १० लाख ५० हजार रुपैयाको लागतमा १ हजार ६ सय ४२ थान काठका पोल हटाएर फलामको पोल राखिएको थियो । न्यौपानेका अनुसार आर्थिक वर्ष २०७२/७३ मा १ हजार ५ सय २१ काठको पोल हटाइएको छ ।

 

उक्त संख्याको काठको पोल भएका ठाउँमा फलाम पोल फेर्न २ करोड ८२ लाख १६ हजार रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष २०७३/७४ मा २ करोड २३ लाख ३८ हजार रुपैयाको लागतमा २ हजार १ सय १३ फलामका पोल राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्