सरसफाइ कर्मचारीले संक्रमितको तापक्रम मापन गर्नु सामान्य : डाक्टर सिंह



जनकपुरधाम : सरसफाइ कर्मचारीले संक्रमितको तापक्रम मापन गर्नु अन्यथा नरहेको धनुषाका कोभिड–१९ संयोजक डा.जामुन प्रसाद सिंहले बताएका छन् ।

धनुषाको नगराईन नगरपालिका–५ गंगुलीस्थित मिथिला आयुर्वेद मेडिकल कलेजको भवनमा सञ्चालित आइसोलेसन सेन्टरमा शनिबार सरसफाइ कर्मचारीले संक्रमितको तापक्रम मापन गरेको घटनालाई संयोजक डाक्टर सिंहले सामान्य भनेका हुन् ।

डाक्टर सिंहले सामाजिक सञ्जालमा लेखेका छन्,‘गंगुली क्वारेन्टाइन सम्बन्धमा आएको भिडियोमा स्वीपरले थर्मोगन प्रयोग गरि लिएको तापक्रमबारे अन्यथा नबुझ्न आग्रह गर्दछु । अस्पतालको गेटदेखि सार्वजनिक सबै ठाउँमा गैर स्वास्थ्यकर्मीले नै विश्वभर तापक्रम लिने गरेको छ । स्वीपरले विरामी जाँचेको होईन् । यद्यपी यस सम्बन्धमा अनुसन्धान गर्न ड्युटिमा रहेका स्वास्थ्यकर्मीको टिमलाई फिर्ता बोलाईएको छ ।’

त्यस्तै प्रादेशिक अस्पताल जनकपुरले पनि प्रेस विज्ञप्ती जारी गर्दै सामाजिक सञ्जालमा आएको गंगुली क्वारेन्टाइनको भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त समयमा ड्युटिमा रहेका स्वास्थ्यकर्मीको टिमलाई प्रादेशिक अस्पतालमा झिकाइएको र घटनाको बारेमा सत्यतथ्य छानविन गरि थप विवरण २४ घण्टा भित्र सार्वजनिक गरिने कोभिड–१९ संयोजक डा.जामुन प्रसाद सिंहले बताए ।

गंगुली आइसोलेसन सेन्टरमा रिक्त भएको स्वास्थ्यकर्मीको टिमको ठाउँमा आजैदेखि नयाँ टिम समेत खटाइएको डाक्टर सिंहले जानकारी दिए ।

शनिबार गंगुलीस्थित आइसोलेसन सेन्टरमा संक्रमितको तापक्रम मापन गर्न गएका व्यक्ति स्वास्थ्यकर्मी नभई त्यहाँ कार्यरत एकजना स्वीपर रहेको कुरा उसले आफ्नै मुखले स्विकार गरेको भिडियो बिभिन्न सञ्चार माध्यम एवं सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

प्रकाशित : भदौ ७, २०७७

प्रतिक्रिया दिनुहोस्