१० हजार कित्ता सेयर आवेदन गरेका प्रधानमन्त्रीलाई कति पर्‍यो ?



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिशुली जलविद्युत कम्पनीले निष्काशन गरेको माथिल्लो त्रिशुली–३ ‘बी’ जलविद्युत आयोजनाको २० कित्ता साधारण सेयर परेको छ । प्रम  ओलीको धर्मपत्नी राधिका शाक्यलाई पनि २० कित्ता नै परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले १० हजार कित्ता आवेदन गरेका थिए ।

यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई पनि जलविद्युतको २० कित्ता नै साधारण सेयर परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । मन्त्री वर्षमान पुनकी धर्मपत्नी एवं पूर्वसभामुख ओनसरी घर्तीलाई पनि २० कित्ता नै परेको छ । ऊर्जामन्त्री पुनले एक हजार कित्ता शेयरको लागि आवेदन दिएका थिए । 

यस्तै ऊर्जा सचिवलाई पनि २० कित्ता नै परेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बिहीबार अपरान्ह १ बजे साधारण सेयर बाँडफाँड गरिएको थियो ।

साधारण सेयरमा आवेदन गरेका ५० हजार २६७ जना भाग्यमानी आवेदकले गोलाप्रथाबाट थप १० कित्ता सहित कूल ३० कित्ताका दरले शेयर हात पारेका छन्। बाँकी आवेदकलाई २० कित्ताका दरले बाँडफाँड गरिएको छ।

आवेदन गरेका कूल एक लाख ५४ हजार ५५९ आवेदन सदर भएको थियो । जसमध्ये एक लाख चार हजार २९२ जना आवेदकले २० कित्ता शेयर प्राप्त गरेका छन् । 

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कूल ६७ वटा आवेदन रद्ध भएको छ । जसमध्ये दोहोरो आवेदन गरेका कारण १९ आवेदकबाट परेको ३८ र संस्थागत आवेदनबाट परेको २९ वटा आवेदन पनि रद्ध भएको हो ।

नुवाकोट र रसुवामा निर्माणाधीन ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली–३ ‘बी’ जलविद्युत आयोजनाले ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत पहिलो कम्पनीको रुपमा शेयर निष्काशन गरेको हो।

पहिलो चरणमा १० प्रतिशत बराबरको ३ करोड ७० लाख ५० हजार रुपैयाँ बराबरको ९३ लाख ७० हजार ५०० कित्ताको लागि मात्र शेयर माग गरिएको हो । बाँकी रकम आयोजनाको भौतिक प्रगति ७५ प्रतिशत पूरा भएपछि दोस्रो चरणमा माग गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्