जन्मकैदको फैसला भएको २० वर्षपछि पक्राउ



म्याग्दी : बीस वर्षअघिको कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भएका म्याग्दीका एक व्यक्ति पक्राउ परेका छन् ।

धवलागिरि गाउँपालिका–३ (साविक मुना गाविस–७) दरका ४४ वर्षीय चन्द्रबल घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनलाई म्याग्दी जिल्ला अदालतको आदेशमा कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले जानकारी दिए ।

घर्तीसमेतले २०५७ कात्तिक २१ गते दरका २२ वर्षीय गर्बे पाइजालाई मकैबारीमा बञ्चरो प्रहार गरी हत्या गरेको मुद्दामा अदालतले सोही वर्ष (जन्मकैद) को फैसला सुनाएको थियो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले घर्तीलाई आइतबार दरबाट पक्राउ गरेर बेनी ल्याएको थियो ।

अदालतमा पेश गरी सोमबार सजाय भुक्तानका लागि जिल्ला कारागार म्याग्दीमा चलान गरिएको प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिए ।

प्रनाउ कुँवरका अनुसार पछिल्लो दुई महिनामा कर्तव्य ज्यान, डाँका चोरी, लागुऔषधलगायतका मुद्दाका १३ फरार कसुरदारलाई पक्राउ गरिएको छ ।

दोषी ठहर गरेका व्यक्तिहरु धमाधम पक्राउ पर्न थालेपछि अदालतको फैसला कार्यान्वयनमा सहयोग पुग्नुका साथै पीडितले न्यायको अनुभूति गरेका छन् ।

जिल्ला अदालतका अनुसार गत वर्ष कूल रु एक करोड सात लाख २० हजार २४७ जरिवाना असुलउपर गर्नुपर्नेमा रु ११ लाख ९५ हजार ८९८ असुलउपर भएको छ ।

यसैगरी जिम्मेवारी कूल एक हजार ४९ वर्ष सात महिना २९ दिन कैद सजाय असुलउपर गर्नुपर्नेमा १८८ वर्ष सात महिना २९ दिन बराबरको कैद असुलउपर भएको छ ।

जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर फैसला कार्यान्वयनमा जोड गरिएको तहसिलदार धर्मराज सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्